काठमाडौं – अमेरिका भ्रमणमा रहेको नेपालले शुक्रबार सुखद सुरुआत गरेको छ । नेपालले डलासमा भएको पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा अमेरिकामाथि १७ रनको जित निकालेको हो । अमेरिकाको टेक्सासस्थित डलासमा शुक्रबार विहान सकिएको खेलमा नेपालले १७ रनको जित निकालेको हो। नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको घरेलु टोली अमेरिकाले ७ विकेटको क्षतिमा १४७ रन जोड्यो।
सयक जाहागिरले ६० रन बनाए पनि टिमको हार टार्न सकेनन् । यस्तै, आन्द्रियस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहलले १६ रन बनाए । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । यस्तै, रिजन ढकाल, करण केसी र गुल्सन झाले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६४ रनको योगफल खडा गरेको थियो ।
नेपालका कप्तान रोहितकुमार पौडेल अर्धशतक बनाउन एक रनले चुके । उनले ३३ बलमा चार चौका र एक छक्कासहित ४९ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए । ओपनरद्वय अनिल साह र आसिफ सेखले समान २७ रन जोडे । गुल्सन झाले ११ र कुशल भुर्तेलले १० रन थपे । नेपालका करण केसी र आरिफ सेख भने गोल्डेन डक भएका थिए ।
अमेरिकाका सौरभ नेत्राभाल्कर, जसदीप सिंह र हर्मीत सिंहले समान दुई विकेट लिए । अली खान र नोस्थुस केन्जिगेको नाममा एक–एक विकेट रह्यो ।
यी दुई टिमबीच ट्वान्टी–२० शृंखलामा तीन खेल हुने तालिका छ । यससँगै तीन खेलको शृंखलामा नेपालले १–० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल अक्टोबर २० र तेस्रो खेल अक्टोबर २१ मा हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij