काठमाडौं – नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधा सम्बन्धि विभिन्न नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बुधबार एकीकृत परिपत्र २०८० संशोधन गर्दै साविकका व्यवस्थाहरूमा थप गरेको जनाएको छ ।
अब ‘कपि डकुमेन्ट’को आधारमा विदेशी मुद्रा सटही जारी भएको ६० दिन भित्र ‘ओरिजिनल डकुमेन्ट’ पेश गरिसक्नुपर्ने छ । अन्यथा सोही आयातकर्ताले कपि डकुमेन्ट देखाएर विदेशी मुद्राको अनुमति लिन नपाउने व्यवस्था गरिएको छ । यसअघि यो ४५ दिनभित्र गर्नुपर्ने व्यवस्था थियो ।
यस्तै गरी, सटही सुविधा प्रदान भएको १२० दिन अर्थात् ४ महिना भित्र सामान आयात गरिसक्नुपर्ने भएको छ । यसअघि ९० दिन अर्थात् ३ महिना भित्र सामान ल्याउनुपर्ने व्यवस्था थियो । यी दुई व्यवस्थाले आयातकर्तामाथि केन्द्रीय बैंकको नीति लचिलो भएको देखिन्छ ।
हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेन्टका पार्टपुर्जा तत्कालै विदेशबाट मगाउनुपरेमा बिक्रेताले उधारोमा १ लाख डलर मूल्यसम्मका सामान अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याउन पाउने भएका छन् । यसअघि उधारो सुविधा १० हजार डलरसम्म मात्रै थियो ।
यस्तै, वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत सटही सुविधा उपलब्ध गराउँदा जापान, दक्षिण कोरिया, युरोप, अमेरिका, क्यानडा र अस्ट्रेलिया जानेको हकमा अधिकतम ५०० डलरसम्म सटही सुविधा पाउने भएका छन् । यस्तै, अन्य मुलुक जाँदा २०० डलरसम्म सटही सुविधा पाउने व्यवस्था छ ।
बाह्य मुलुक गई उपचार गराउन चाहने वा गर्नुपर्ने व्यक्तिले नेपालका अस्पतालमा स्वास्थ्य परीक्षण गराई वाह्य मुलुक गई उपचार गराउन उपयुक्त हुने भनी स्वदेशका डाक्टरले उपलव्ध गराएको सिफारिसपत्र तथा विदेशस्थित अस्पतालबाट उपचारमा लाग्ने अनुमानित खर्च उल्लेख भएको कागजात पेश गर्नुपर्नेछ । यस्तो सटही सुविधा विदेशी अस्पताल (औषधि तथा उपकरण बिक्रेता समेत)ले भुक्तानी पाउने गरी पठाउनु पर्नेछ ।
सटही सुविधा प्रदान गरेपश्चात उक्त सुविधा दिइएका व्यक्तिहरूको नाम, ठेगाना, फोन नम्बर, सटही लिएको मुद्रा र रकम उपचार गराउने विदेशी अस्पताल (औषधि तथा उपकरण बिक्रेता समेत) को नाम, ठेगाना एवम्खर्च फछर्याैट् भए/नभएको विवरण अर्धवार्षिक रुपमा अवधि समाप्त भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस विभागमा पेश गर्नु पर्नेछ ।
५०० डलर सटही सुविधा पाउने मुलुकको सूचीमा अस्ट्रेलिया थपिएको छ । यसअघि वैदेशिक रोजगारीमा जाँदा अस्ट्रेलियाको हकमा ५०० डलर सटही सुविधा थिएन । राष्ट्र बैंकमा विदेशी मुद्राको सञ्चिति बढ्दै गएपछि लचिलो नीति लिएको हो ।
आयात खुम्चँदै जाँदा राष्ट्र बैंकमा २१ खर्ब रुपैयाँभन्दा बढी सञ्चिति पुगेको छ । यही कारण, यसअघि २०८० मा लिएको कडा नीतिलाई लचिलो बनाएको हो । सो समयमा विदेशी मुद्राको सञ्चिति जोगाउने लक्ष्यसहित राष्ट्र बैंकले कडा नीति लिएको थियो ।
वैदेशिक भ्रमणबाट फिर्ता हुँदा व्यावसायिक/औपचारिक भ्रमण, व्यक्तिगत भ्रमण, शिक्षा, उपचार, पेन्सन, विप्रेषण (रेमिट्यान्स) र अन्य प्रयोजन अनिवार्य रुपमा उल्लेख भर्नुपर्नेछ ।
सञ्चालक समितिबाट वा सञ्चालक समिति नहुनेको हकमा अख्तियारप्राप्त अधिकारीबाट सटही सुविधा माग गर्ने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि र सञ्चालक समिति वा सञ्चालक समिति नहुनेको हकमा अख्तियारप्राप्त अधिकारीबाट विदेशी मुद्रा अपचलन भएमा सोको सम्पूर्ण जिम्मेवारी लिने स्वःघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
बस/मिनिबसको बडी निर्माणको लागि कागजातहरुको आधारमा भारतीय फर्म, कम्पनी, वा संस्थाले भुक्तानी पाउने गरी नेपाली नागरिकलाई समेत प्रति सवारी १५ लाखसम्म भारतीय रुपैयाँको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाटै प्रदान गर्न सकिनेछ । यस्तो सटही सुविधा प्रदान गर्दा नियामक निकायको स्वीकृति/सिफारिस अनिवार्य हुनेछैन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij