काठमाडौं – नेपाल र बंगलादेशबीच बिहीबार (आज) विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ। बंगलादेशमा ४० मेगावाट बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत व्यापार निगमबीच काठमाडौंमा त्रिपक्षीय सम्झौता भएको हो।
आज भएको सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो. रेजुल करिम र एनभीभीएनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) रनु नारंगले हस्ताक्षर गरेका छन् ।
‘कम क्षमताको भए पनि विद्युत व्यापारमा हामीले ऐतिहासिक फड्को मारेका छौं, अहिलेका लागि ४० मेगावाट निर्यात गर्ने भएपनि आगामी दिनमा यो क्षमता बढ्नेछ, तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने पहिलो देश नेपाल बन्नु गौरवको विषय हो,’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सगौरवका साथ कार्यक्रमको सुरुमा अतिथिलाई स्वागत गर्दै भने ।
बिहीबार नेपाल, भारत र बंगलादेशका अधिकारीहरूबीच नेपालबाट भारतीय ग्रिडको सहायताले बंगलादेश विद्युत निर्यात गर्ने सम्झौता कार्यक्रममा उनले यो कार्यले त्रिदेशीय सम्बन्धसँगै आर्थिक गतिविधि पनि बढ्ने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा घिसिङले यो ऐतिहासिक गर्नका लागि सहयोग गर्ने सबैलाई धन्यावद पनि दिए । उनले कार्यक्रममा दक्षिण एसियाको ऊर्जा सहकार्यमा कोसेढुंगा भएको बताउँदै यसले सबरिजनल र रिजनल सहकार्यको ढोका खोल्ने धारणा राखे ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालले भारतमा विद्युत् निर्यात गरेर राम्रो आम्दानी गर्न सफल भएको बताउँदै अब बंगलादेशमा निर्यात गरेर पनि थप आम्दानी गर्ने ढोका खुलेको धारणा राखे ।
यस्तै, कार्यक्रममा बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले यो सम्झौता दक्षिण एसियाली विद्युत सहकार्यमा कोशेढुंगा भएको धारणा राखिन् । उनले नेपाल, भारत र बंगलादेशको पारस्परिक लाभका लागि यो कदम महत्त्वपूर्ण रहेको धारणा राखिन् ।
विद्युत निर्यात प्रत्येक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म कायम हुनेछ । बंगलादेशले नेपालसँग प्रतियुनिट ६.४ सेन्टमा उक्त विद्युत् खरिद गर्नेछ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारमा यो सम्झौताले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे । उनले पनि दक्षिण एसियामा तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने नेपाल पहिलो देश बनेको उल्लेख गर्दै यसले त्रिदेशीय सम्बन्ध विस्तारमा पनि थप योगदान गर्ने बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij