२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि दशैं शुरु, दशैंको पहिलो दिन घटस्थापना

आजदेखि दशैं शुरु, दशैंको पहिलो दिन घटस्थापना

1.3K
Shares

काठमाडौं – आजदेखि हिन्दु नेपालीहरूको  बडादशैं  नवरात्र प्रारम्भ भएको छ ।   आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन बिहीबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दशैं शुरू हुनेछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले घटस्थापनाका लागि बिहान ९ बजेर १६ मिनेटको शुभ साइत तोकेको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने हिन्दु नेपालीको महान् पर्व दशैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ। घटस्थापनाको दिन पूजा कोठा, दशैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ। कतैकतै भने ब्रह्माको पनि स्थापना गरिन्छ ।

घटस्थापनाका दिन पूजा कोठामा घैंटो अथवा घडामा जलभरि माथिपट्टि आँप, चाप, बर पिपलको पात राख्ने परम्परा छ। यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने प्रचलन रहेको छ। कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ। बिहानै उठेर नुहाई धुवाइ गरी चोखो भएर पूजा कोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ छर्ने गरिन्छ।

त्यहीँनजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ। नवदुर्गा देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ।

असोज २६ गते शनिवारका दिन विजया दशमीकादिन देवी विसर्जन गरी प्रसाद स्वरूप टीका लगाउने गरिन्छ। यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ।

आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij