२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुई कम्पनीको शेयरमूल्य समायोजन

दुई कम्पनीको शेयरमूल्य समायोजन

1.4K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्था र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजपश्चात गुराँस लघुवित्तको शेयरमूल्य १ हजार ५९१ रुपैयाँ ९५ पैसा कायम भएको छ भने प्रभु महालक्ष्मीको ५५० रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा गुराँस लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ८१८ रुपैयाँ ८० पैसा र प्रभु महालक्ष्मीको शेयर प्रतिकित्ता ६०५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले असोज २३ गते, आम्रपाली ब्याङक्वेट, भाटभटेनी, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले हकप्रद शेयर संशोधन गरी बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले असाज २९ गते, मंगलबार, होटल कान्जिरोवा, धनकुटा नगरपालिका वडा नं. १, हिले धनकुटामा नवौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij