काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष छनोट प्रक्रिया अघि बढाएको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले अध्यक्षका लागि आवेदन दिएर पाँचको सर्टलिस्टमा परेका तर अन्तरवार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतिमा नआएका तीन जना उम्मेदवारलाई फेरि अन्तर्वार्ताका लागि बोलाएको हो ।
अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका थिए । सिफारिस समितिका अनुसार कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाएको हो । सर्टलिस्टमा परेका ३ जनाको आगामी असोज १८ गते बिहान ८ बजे अर्थमन्त्रालयमा प्रस्तुतीकरण हुनेछ । यसअघि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि उपस्थित भएका थिए ।
बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रियामा विवाद सिर्जना भएपछि रोकिएको थियो ।
बोर्डमा यसअघि अध्यक्ष नियुक्त भएका रमेश हमालको कार्यकाल पुस २० गते सकिएपछि सरकारले माघ ४ गते नयाँ अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij