काठमाडौं – आज असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधान जारी भएको ९ वर्ष पूरा भएर दस वर्ष प्रवेशको अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ ।
सरकारले भव्यताका साथ संविधान दिवस मनाउन र घरघरमा झण्डोत्तोलनसहित दिपावली गर्न पनि सबैलाई आग्रह गरेको छ ।
काठमाडौंको सैनिक मञ्च टुडिखेलमा अहिले बिहान ८ बजे संविधान दिवस मूल समारोह हुँदैछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थहरुको सहभागिता रहनेछ ।
आजै दिउँसो दरवारमार्गमा नागरिक स्तरीय कन्सर्ट आयोजना गरिँदैछ । संविधान दिवसकै अवसर पारेर धरहरा पनि आजबाटै सर्वसाधारणका लागि आशिंक खुला गरिने भएको छ । संविधान दिवसको खुसियालीमा नागरिक स्तरबाट पनि विभिन्न कार्यक्रम गरिएका छन् ।
संविधान दिवसका उपलक्ष्यमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरिनेछ। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन्।
देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२” लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij