२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकको स्मार्ट हब सञ्चालनमा

सिटिजन्स बैंकको स्मार्ट हब सञ्चालनमा

560
Shares

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप कर्पोरेट कार्यालयको परिसरमा ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीमा बुधबार आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गणेश राज पोखरेलले सो हब सार्वजनिक गरेका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै सीईओ पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिनबाट प्राप्त गर्ने सुविधाले ग्राहकहरुलाई डिजिटल कारोबारमा अभ्यस्त हुन मद्दत गर्ने बताए ।

साथै उनले यसप्रकारको सेवा सुरुवातबाट समग्र डिजिटल बैंकिङ्गको विकासमा टेवा पुग्ने विश्वास लिएको पनि बताए । हाललाई कर्पोरेट कार्यालयबाट सुरु गरिएको यस्तो सेवा आगामी दिनमा देशका अन्य स्थानहरुबाट समेत सञ्चालन गरिने योजना रहेको कुरा समेत उनले बताए ।

स्मार्ट हबमा राखिएका चेक जम्मा गर्ने मेसिनमा ग्राहकहरुले क्लियरिङ्ग चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलव्ध छ भने क्यास डिपोजिट मेसिनमा १ हजार र ५०० रुपैयाँ दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधा उपलव्ध छ ।

यसैगरी, कम्पनीले असोज महिनाभर ‘सिटिजन्स डिजिटल महिना’ उत्सव सञ्चालन गर्ने बताएको छ । यस उत्सवमा फोनपेसँगको सहकार्यमा कम्पनीले विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरेको छ ।

जसमा मोबाइल बैंकिङ प्रयोग गरी हवाई टिकट खरिद गर्ने यात्रुहरूलाई ४०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुने, बडादशैंमा मोबाइल बैंकिङ प्रयोग गरि डिजिटल दक्षिणा दिंदा सो कारोबारमा १०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनुका साथै चाडपर्वमा गरेको पहिलो मोबाइल बैंकिङ कारोबारमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक प्राप्त हुनेछ ।

त्यसैगरी, ‘दसैंमा चलाउ सिटिजन्स कार्ड’ अभियानमा डेबिट र क्रेडिट कार्डको प्रयोगमा आकर्षक क्यासब्याक अफर प्राप्त हुनुका साथसाथै ‘डिजिटल रेमिटेन्स प्राप्ति अभियान’मा मोबाइल बैंकिङ मार्फत प्राप्त गरिएको रेमिटेन्समा आकर्षक क्यासब्याक प्राप्त हुनेछ ।

यस्ता डिजिटल प्रोत्साहित कारोवार अभियानबाट समग्र बैंकिङ्ग क्षेत्रमा नै डिजिटल बैंकिङ्गको विकास हुने विश्वास कम्पनीले लिएको छ । कम्पनीले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड विना नै मोबाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भर्चुअल क्रेडिट कार्डमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij