२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेस च्याप्टर गठन

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेस च्याप्टर गठन

620
Shares

काठमाडौं –नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले मधेश प्रदेश गठन गरेको छ । प्रदेश च्याप्टरको  सोमबार वीरगञ्जमा आयोजित विशेष समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश च्याप्टरको शुभारम्भ गरेका हुन् ।  उद्यमी मञ्च सन् २००८ मा गठन भएको नेपाल उद्योग परिसंघको युवा संगठन हो ।

सो अवसरमा उनले प्रदेश सरकार उद्यमीलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताए । उनले उद्यमशीलताको प्रबरद्धन गर्न कोष बनाएको उल्लेख गर्दै मुलुकभित्र रोजगारी सृजना गर्न उद्यमशीलताको प्रबद्र्धन गर्न आवश्यक रहेको बताए ।

रोजगारीको अभावमा युवाहरु विदेशिएको अवस्थामा देशभित्रै केहि गर्नुपर्छ भन्ने भावनाका साथ युवा उद्यमीहरुलाई संगठित गर्ने कार्यका लागि उनले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चलाई धन्यवाद समेत दिए । उनले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रसँग मिलेर अगाडि बढ्न तत्पर रहेको समेत बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवा उद्यमीहरुलाई देशमै केही गर्न सकिन्छ, विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न युवाहरुलाई नीतिबाटै सहजिकरण, प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।

देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेकोमा समेत उनले जोड दिए ।

त्यसैगरी, नेपाल उद्योग परिसंघ मधेश प्रदेशका अध्यक्ष प्रमोद साहले कानूनी एवं नीतिबाटै युवा उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशिष अग्रवालले मधेश प्रदेशको आर्थिक विकासले देशलाई नै समृद्धि दिन सक्ने बताए ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टरका अध्यक्ष रजत बजाजले देशको महत्वपूर्ण आर्थिक केन्द्र रहेको मधेश प्रदेशका युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न प्रदेश सरकार, स्थानीय सरकारसँग नीतिगत विषयमा समन्वय गर्ने बताए ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टरको बोर्डमा रजत बजाजसँगै आयोसी तुल्सियाना, अनुनय रुङ्टा, अनुश्री अग्रवाल, दिपक साह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij