२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरकारी सञ्चारमाध्यमहरु आर्थिक रुपमा आफैँ सक्षम हुनुपर्छः मन्त्री गुरुङ

सरकारी सञ्चारमाध्यमहरु आर्थिक रुपमा आफैँ सक्षम हुनुपर्छः मन्त्री गुरुङ

435
Shares

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमहरु आर्थिक रुपमा आफैँ सक्षम हुनुपर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि भएको छलफलका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी सञ्चारमाध्यमहरु विगतमा जनताको सेवाको लागि मात्रै स्थापना गरिएको भन्दै उहाँले बदलिदो परिवेश अनुसार यि संस्थाहरुले अब आर्थिक आयआर्जन पनि गर्नुपर्ने बताउनु भयो । उहाँले यि संस्थाहरु राम्रो सेवा पनि दिन नसक्ने र प्रतिस्पर्धामा पनि जान नसक्ने अवस्थामा रहेका भन्दै यिनीहरुको पुर्नसंरचना गर्नुपर्ने बताउनु भयो । उहाँले जनतालाई सेवा दिनुका साथै प्रतिष्पर्धि हुनुपर्नेमा पनि जोड दिनुभयो । सरकारी सञ्चारमाध्यमहरुले राजस्व वृद्धि गर्नुपर्ने उहाँको भनाई छ । उहाँले आफूले सरकारी सञ्चारमाध्यमहरुलाई आफैँ कमाएर खानका लागि निर्देशन समेत दिइसकेको बताउनु भयो । उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सेतो हात्ति पाले जसरी पाल्न नसकिने भन्दै आवश्यक संरचना मात्रै राखिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो संगठनहरु पञ्चायतकालमा एक खालको भजन मण्डलीको रुपमा प्रयोग भयो । एउटा व्यवस्था थियो सबै बिरोधीहरुको पक्षमा प्रयोग गर्ने काम भयो । अहिले पनि हामी कता–कता त्यही आँखाले हेर्छौं । नेपाल टेलिभिजन र रेडियो नेपालको गतिविधि त्यही भएको छ र ? त्यस्तो भएको छैन नि । अहिले त बहुदलिय व्यवस्था आयो । कुनै राजा, महाराजा छैन । कुनै पञ्च महानुभाव पनि छैन । उनीहरुको गुणगान गाइदिनुपर्ने, उनीहरुलाई जोगाइदिनु पर्ने त छैन । पहिलेको तुलनामा निष्पक्ष ढङ्गले धेरै भन्दा धेरै जनतालाई सुसुचित गर्ने, सुचनाको प्रशारण गर्नेदेखि लिएर सबै काम गरिरहेको छ । तर हाम्रो चासो कहाँनिर छ भने, आधुनिक प्रविधिको विकास भइसक्यो । त्यस अनुरुपको कामयावि बनाउनुप¥यो । प्रतिस्पर्धि हुनुप¥यो । त्यसकारणले पनि हामीले यो ऐन ल्याएको हो । हिजो यि संस्थाहरु नितान्त सेवाको लागि मात्रै खोलेको हो । बहुदलिय व्यवस्था आएपनि नेपाल खुल्ला समाज भयो । खुला समाजमा निजी क्षेत्रलाई पनि प्रवेश गरायौँ । प्रतिस्पर्धा हुने नै भयो । खुलापनले प्रतिस्पर्धाको ज्यादा माग ग¥यो । तर हाम्रो संस्थाहरु चाहीँ सरकारले सेवा गर्न गठन गरेको भन्ठानेर सेवा पनि राम्रोसँग पु¥याउन नसक्ने । प्रतिस्पर्धामा पनि जान नसक्ने । राज्यको सुचना प्रवाह गर्ने संस्था, जनतालाई सेवा गर्ने संस्था हुने कि नहुने ? राज्य बलियो बनाउन यस्ता संस्थाहरु हुनुपर्छ । यस्तो संस्थाहरु बायस हुनुभएन । सेवाको काम पनि गर्नुपर्नेछ यसले । सेवा गर्दै प्रतिष्पर्धामा पनि आफुलाई खरो उतार्नुपर्नेछ यि संस्थाहरुले । यसलाई प्रतिस्पर्धि बनाउने, राजस्व वृद्धि गर्ने । तिमीहरु आफैँ कमाएर खाओ न भनिदिएको छु मैले । राजस्व बढाउने काम गर । र प्रतिष्पर्धामा पनि जाऔँ । रेडियो र टेलिभिजनको क्षमता बढाउनुपर्ने पनि छ । रेडियो नेपाल पनि सेतो हात्ति बनेर काम छैन । नेपाल टेलिभिजन पनि सेतो हात्ति बनेर काम छैन ।’

उहाँले राज्यको सूचना प्रवाह गर्ने रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता संस्थालाई बलियो बनाउन सकेमात्रै राज्य बलियो हुने बताउनु भयो । उहाँले संगठन र राज्यलाई बलियो बनाउनुपर्ने बताउनु भयो । —न्युज ऐजन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij