काठमाडौं– अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २६ करोड २७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले, गत आर्थिक वर्षको अन्त्यसम्ममा ११ लाख २२ हजार रुपैयाँ मात्र यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५७.२७ प्रतिशत कम हो।
असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ४९ पैसा रहेको छ। ३ अर्ब ७३ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा १४ करोड ७५ लाख रुपैयाँ सञ्चित छ।
विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ८८.४३ प्रतिशत घटेर ५८ लाख ८४ हजार रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६५.१३ प्रतिशत घटेको छ भने अन्य आम्दानी ६४.८९ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ३.७२ प्रतिशत घटेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij