२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई

प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई

350
Shares

काठमाडौं– नेपाली सेनामा शुक्ररबादेखि नयाँ नेतृत्त्व आएको छ। प्रधान सेनापति प्रभूराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेपछि नयाँ नेतृत्त्व आएको हो ।

सैनिक मुख्यालय जङ्गीअड्डामा बिहीबार आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले शुक्रबादेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई आफ्नो कार्यभार बुझबुझारथ गरेका हुन् ।सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबारदेखि लागू हुनेगरी यसअघि नै रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी तोकिसकेका छन् ।

प्रधान सेनापति अवकाश हुनुअघि एक महिना घर बिदामा बस्ने प्रावधान रहेअनुसार रथी सिग्देलले कामु प्रधान सेनापतिको जिम्मेवारी पाएका हुन् । मुलुकको प्रमुख सुरक्षा संगठन नेपाली सेनाको ४५औं प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै छन् ।

कामु प्रधान सेनापतिको जिम्मेवारी पाएका बलाधिकृत रथी सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन् । आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उनले आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन् ।

साथै, उनले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । सिग्देलले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्यान्ड फोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए ।

कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को सचिवका रूपमा पनि काम गरेका उनले सैनिक संगठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij