२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सपोर्ट लघुवित्तको नाफा ७५.०३ प्रतिशतले बढ्यो

सपोर्ट लघुवित्तको नाफा ७५.०३ प्रतिशतले बढ्यो

730
Shares

काठमाडौं– सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले २ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.०३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
१० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब २६ करोड सापटी र ३४ करोड निक्षेपबाट कुल १ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थाको रकम घटेका कारण खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८.१९ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ८१.९४ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी २८.६६ प्रतिशत र सञ्चालन मुनाफा १९४.३८ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३५ लाख रुपैयाँ रहेको लघुवित्तको सम्भावित जोखिमबापतको व्यवस्था, गत आर्थिक वर्ष ९ लाख ७३ हजारमा सीमित भएको छ। जसका कारण खुद नाफा र सञ्चालन मुनाफा बढ्ने टेवा पुगेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ८५ पैसा बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ। त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात ८३।९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij