काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने तय भएको छ ।
ओली २४ असोज ०७२ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित भएका थिए । व्यवस्थापिका संसदमा ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गरेका थिए ।
यस्तै, ०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली ३ फागुन ०७४ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाख ०७८ मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij