काठमाडौं- गीतकार डा शिव सुवेदीको नयाँ गीत ‘म त तिम्रो हैन’ सार्वजनिक भएको छ। गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा पूर्व कानुन तथा संघीय मामिला मन्त्री पदमकुमार गिरी र लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।
सुवेदीको पहिलो गीत ‘घाम जस्तो चम्किलो हुँदैन’ समेत १७ वर्षअघि गिरीले नै सार्वजनिक गरेका थिए। पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापतिका रुपमा आफूले उक्त गीत सार्वजनिक गरेको पूर्वमन्त्री गिरीले कार्यक्रममा स्मरण गरे। उनले भने, ‘घाम जस्तो चम्किलो हुँदैन’ भन्ने उक्त गीत जन-जनको मुखमा झुन्डिएको थियो। गीत/संगीत उहाँको सक्रियता र निरन्तरतालाई मैले नजिकबाट नियालेको छु। उहाँ निकै नै प्रतिभाशाली व्यक्ति हुनुहुन्छ।’ संगीत समाजका लागि अपरिहार्य कुरा रहेको बताउँदै सर्जक अनुकुल नीति निर्माणका पक्षमा आफू सधैं उभिएको बताए। आगामी दिनमा पनि त्यसका लागि पहल गर्ने उनको भनाइ थियो।
भूकम्प विद्यामा विद्यावारिधी गर्न सिंगापुर गएका बेला भने आफू एक प्रतिभाशाली व्यक्ति विदेशमै हराउनेमा चिन्ता लागेको बताए। नेपाल फर्किएको थाहा पाएपछि गर्व महशुस भएको उक्त कार्यक्रममा उल्लेख गरे।

प्रतिष्ठानकी अध्यक्ष थापामगरले डा सुवेदीका गीतले लोक तथा दोहोरी क्षेत्रको गरिमा कायम राखेको बताइन्। युट्युबमा भ्युज बढाउन मौलिकता, कला र संस्कृतिमाथि नै धावा बोल्न क्रम चलिरहेका बेला यस्ता गीत आउनु सुखद् रहेको बताइन्। उनले भनिन्, ‘कसैले गरिदेला भनेर बस्ने होइन, आफ्नो तर्फबाट एक्सनमा उत्रिने हो। संस्थागत रुपमा हामीले लागिरहेका छौं । सर्जकका रुपमा डा शिवहरुको भूमिका छ।’ भूकम्प विद्यामा विद्यावारिधी गरेपछि लोक संगीतलाई नै बिर्सिने चिन्ता लागिरहेका बेला नयाँ लोकदोहोरी गीत आउँदा आफू खुशी भएको समेत उनले उल्लेख गरिन्।
उक्त गीतमाथि गीतकार आनन्द अधिकारी, राजकुमार बगर र बैकुण्ठ महतले समिक्षा गरेका थिए। गीतकार अधिकारीले लोक संगीत मुटुको गीत रहेको बताए। उनले भने, ‘शास्त्रीय गीत दिमागबाट बन्छ, लोकगीत मुटुबाट आउँछ। यो गीतमा मैले गहिरो साहित्य, विम्ब र स्पष्ट दर्शन भेटेको छु।’ त्यसैगरी अर्का समिक्षक बगरले डा सुवेदीका गीतमा सधैं फरकपन भेटिने उल्लेख गरे। ‘लोकसंगीतमा उहाँको छुट्टै पहिचान छ। यो त्यसैको निरन्तरता हो तर यसपल्ट संगीतमा केही फरक आभाष गरेको छु,’ उनले भने।
त्यस्तै समिक्षक महतले गीतकार डा सुवेदी गण्डक क्षेत्रको मौलिक भाषा र शैलीलाई गीतसंगीतमा कायम राख्न सफल भएको बताए। जसले गीतलाई मौलिक र श्रवणीय बनाएको उनको भनाइ थियो। पहिलो गीत सार्वजनिक हुँदा आफू रेडियोकर्मी भएको स्मरण गर्दै उनले थपे, ‘म उहाँको पहिलो गीतबाट नै प्रभावित भएको थिएँ। त्यसपछि निरन्तर उहाँको संगीतयात्रा नियालिरहेको छु। हरेकपल्ट उहाँले झन् भन्दा झन् राम्रो कोशेली पस्किरहनुभएको छ।’
कार्यक्रममा गीतको म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो। उक्त गीतमा कुलेन्द्र बिक र शान्तिश्री परियारको स्वर रहेको छ। मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा सनम कठायत, लोमस शर्मा र ललन चिमोरियाले अभिनय गरेका छन्। कार्यक्रममा अभिनेता कठायतले डा सुवेदीसँग पढाइ र संगीत दुवैमा आफूले सहकार्य गरेको स्मरण गरे। ‘हामी एमएस्सीसम्म सँगै पढ्यौं । उहाँ मर्मस्पर्शी गीत लेख्नुहुन्छ, म त्यस्तै गीतमा अभिनय गर्नका लागि परिचित छु। त्यसैले हाम्रो संगीतमा पनि सहकार्य जारी छ।’
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij