काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ब्राजिल प्रस्थान गरेका छन् । मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन मेयर बालेन साेमबार ब्राजिसल लागेका हुन् ।
असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २ः१५ बजेको उडानबाट उनी ब्राजिल प्रस्थान गरेका हुन् । शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् । उनका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् ।
सहरी आवास र भवनहरुको विषय यस पटक छलफलको मुख्य विषय रहेको छ । सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ । बैठकमा मेयर बालेनले सम्बोधन गर्नेछन् ।
कार्यक्रमअन्तर्गत ‘मेयरल राउण्ड टेवल’ शीर्षकमा बुधबार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा मेयर बालेनले प्यानलिष्टका रुपमा धारणा प्रस्तुत गर्नेछन् ।
सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत रहेर नीति वहस हुनेछ ।
नीति बहसले विश्वभरका प्रमुख सहरहरूका प्रमुख सरोकारवालाहरू, अन्तररराष्ट्रिय संस्था र वित्तीय संस्थालाई एकै ठाउँमा स्थानीय चुनौती समाधान गर्न अन्तरदृष्टि आदानप्रदान गर्ने र लगानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्कनेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij