२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिङरोड बाहिरका काठे बस्तिहरुमा होमस्टे संचालन गर्नु उपर्युक्तः पर्यटनमन्त्री तामाङ

रिङरोड बाहिरका काठे बस्तिहरुमा होमस्टे संचालन गर्नु उपर्युक्तः पर्यटनमन्त्री तामाङ

525
Shares

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौं उपत्यका नजिक रिङरोड बाहिरका काठे बस्तिहरुमा होमस्टे(घरबास)कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने औल्याउनु भएको छ । हाँडिगाउँ सामुदायिक होमस्टे (घरबास)को बाषिक उत्सव र नयाँ होमस्टे घरहरुको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले शहरभन्दा नजिक उपत्यकाको काँठे एरियाहरुमा होमस्टे कार्यक्रम बिस्तार गर्न सकिने बताउनु भएको हो ।

बिदेशी तथा स्वदेशी पर्यटकलाई लोकल तथा अग्र्यानिक खानाको स्वाद सँगै मौलिक कला, संस्कृति देखाएर आर्थिक लाभ लिन सकिने भन्दै मन्त्री तामाङले होमस्टेलाई व्यावस्थित तथा  प्रभावकारी र उदेश्यमुलक बनाएर सन्चालन गर्नुपर्नेमा जोड दिनुभयो । शहरी क्षेत्रमा रहेका घरहरुमा समेत आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवा बापत निश्चीत रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिन्छ भन्नेकुरा हाँडिगाउँ होमस्टेले प्रमाणित गरिसकेको भन्दै उहाँले अब हाँडिगाउँमा मात्रै सिमित नराखि शहरका अन्य कुना कुनामा पनि होमस्टे सन्चालन गरि त्यहाँको मौलिक कला, संस्कृति, संस्कारको संरक्षण र प्रचार गर्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, काठमाडौंको रिङरोड बाहिरका काठ एरियामा खेती गर्ने, पशुपालन गर्ने र गाईबस्तुको मलबाट तरकारी फलाउने गरिन्थ्यो । अहिले खेतीयोग्य जमिन कम होलान् तर जति छन् त्यसलाई उपयोगमा ल्याएर त्यस्ता बस्तीहरुमा होमस्टे सञ्चालन गरि पुरानो जीवनशैलीमा आधुनिक प्रविधिको मिश्रण गर्दै स्थानीय उत्पादनबाट पाहुनाको स्वागत सत्कार गर्न सकेमा राम्रो आर्थिक उपार्जन गर्न सकिने सम्भावना छ ।

नेपाल आउने पर्यटक सबै हिमाल हेर्न, धार्मिक स्थलहरुको अवलोकन गर्न र प्राकृतिक दृश्यावलोकन गर्न मात्रै नआउने भन्दै मन्त्री तामाङले मौलिक परम्परागत शैली र स्थानीय स्रोत साधानको प्रयोग गरेर पुरानो शैलीमा बनाईएका आवास, रहनसहन, बसोबास, धर्म रीतिरिवाज,भाषा साहित्य, कला, गीतसंगित तथा अन्य कला संस्कृतिको अध्ययन गर्न जान्नका लागि पनि आउने गरेकाले त्यस्ता पर्यटकको चाहना परा गर्न होमस्टे उपर्युक्त माध्यम बन्ने बताउनु भयो ।  त्यसका लागि होमस्टे व्यावस्थित रुपमा सन्चालनमा आउन भने जरुरी रहेको उहाँको भनाई थियो ।

काठमाडौंको शहरी क्षेत्रमा खोलिएका होमस्टेलाई थप प्रचार प्रसार गर्न सकेमा छोटो अवधिका लागि आउने पर्यटकलाइ सेवा प्रदान गर्न सकिने उहाँले बताउनु भयो । स्थानीय समुदायको आर्थिक विकासका लागि पनि होमस्टेलाई प्रवर्द्धन गर्नुपर्नेमा मन्त्री तामाङले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij