काठमाडौं– ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि सम्मान गरेको छ । बैंकको उद्देश्य र ध्येय प्राप्तिको लागि स्थापित मूल्य मान्यताहरुको जडमा बैंकको परिवर्तनको ज्योति फैलाउने संकल्पमा १५ वर्षसम्म अनवरत रुपमा सहयात्रा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको हो ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित सम्मान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कपिल ढकालले कर्मचारीहरुलाई सम्मानित गर्नुका साथै कर्मचारीहरुको जीवन बीमा परिपक्वताको रकम पनि हस्तान्तरण गर्नु भएको हो। सम्मानित हुनेहरुमा श्री विकास रानाभाट, श्री प्रमिला केसी, श्री जमुना रिसाल, श्री अनिता राई र श्री होम कुमारी बस्नेत रहेका छन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री ढकालले कर्मचारीहरूले वर्षौंदेखि बैंकमा गरेको समर्पण प्रति हार्दिक आभार व्यक्त गर्दै १५ वर्षको गौरवपूर्ण सहयात्रालाई सफल र सबल बनाउन सफल हुनुहुने कर्मचारीहरू प्रति अत्यन्त अनुगृहीत रहँदै हार्दिक कृतज्ञता ज्ञापन गरे । साथै अबको यात्रामा पनि सोहि अनुरुपको योगदान रहनेमा विश्वास प्रकट गरे ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । सोहि मान्यता अनुरुप भर्खरै मात्र ज्योति विकास बैंकले १५ जना शारीरिक रुपले भिन्न रुपमा सक्षम नागरिकलाई कृत्रिम हात प्रदान गरेको थियो। संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।
ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij