२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनसिएचएलको विशेष साधारण सभा सम्पन्न

एनसिएचएलको विशेष साधारण सभा सम्पन्न

555
Shares

काठमाडौं– नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले वैशाख १३ गते विशेष साधारण सभा सम्पन्न गरेको छ। उक्त विशेष साधारण सभामा एनसिएचएलका सञ्चालक समितिका अध्यक्ष तथा सदस्य, सेयरधनी प्रतिनिधि र व्यवस्थापन तर्फका कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो।

एनसिएचएलले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गर्ने प्रमुख अजेण्डा सहित उक्त विशेष साधारण सभा सम्पन्न गरेको हो।
नेप्सको १०० कित्ता सेयर बराबर एनसिएचएलको २८ सेयर हुने गरी १:०.२८ स्वाप अनुपातमा एनसिएचएलले नेप्सलाई प्राप्त गर्न विशेष साधारण सभामा पारित गरिएको छ।

प्राप्ति कार्य गरेपछि परिवर्तन हुने सेयर तथा चुक्ता पुँजी वृद्धि गर्न, सेयर समूह स्वामित्व परिवर्तन गर्न एनसिएचएलको प्रबन्धपत्र तथा नियमावालीका आवश्यक दफा/नियमहरु संशोधन गर्ने लगायतका विषयहरूमा पनि विशेष साधारण सभाले स्वीकृति तथा अख्तियारी प्रदान गरेको छ।
प्राप्तिका लागि २०८० पुस ६ गते प्रारम्भिक सम्झौता र विस्तृत मूल्यांककनपछि २०८० चैत २२ मा प्राप्ति सम्बन्धी सम्झौता भएको थियो।

नेपाल राष्ट्र बैंकको विद्ययमान भुक्तानी तथा फर्छ्यौट विनियम बमोजिम अपनाउनु पर्ने सम्पूर्ण प्रक्रियाहरू पूरा गरी नेपाल राष्ट्र बैंक समक्ष नेपाल क्लियरिङ हाउस लिमिटेड र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्सको संयुक्त रूपमा अन्तिम स्वीकृित प्राप्त गरी कम्पनी रजिष्ट्रार कार्यालय र प्रचलित कानुन बमोजिम अपनाउनु पर्ने सम्पूर्ण प्रक्रियाहरू पूरा गरी एकीकृत कार्य प्रारम्भ गर्ने छन्।

हाल एनसिएचएल र नेप्सको चुक्ता पुँजी क्रमशः १ अर्ब ६६ लाख र २१ करोड १२ लाख रहेकोमा प्राप्ति पछि एकीकृत संस्थाको चुक्ता पुँजी १ अर्ब ६ करोड ५८ लाख हुनेछ। एनसिएचएलको गत आर्थिक वर्ष २०७९/८० को खुद मुनाफा ३७ करोड ६८ लाख रहेको थियो भने नेप्सको ६ करोड ४६ लाख रहेको थियो। बैंक वित्तीय संस्थाहरूबाट प्रवर्द्धित दुवै संस्थाहरू नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका हुन्।

नेप्सले कार्डमा आधारित भुक्तानी प्रणालीको सञ्जाल स्थापना गरी सदस्य बैंकहरूलाई विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्किममा आधारित कार्डहरू जारी गर्न तथा सो सम्बन्धी विविध कारोबार सञ्चालन तथा फर्छ्यौट गर्ने सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij