२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

755
Shares

काठमाडौं – नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरुको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यसैगरी युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गरेका छन् ।

यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका छन्।

यस्ता छन् समझदारी

१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहकार्यका लागि समझदारी ।

२. राष्ट्रिय समाचार समिति (रासस) र कतार समाचार एजेन्सी (क्युएनए) बीच सहयोग र समाचार आदानप्रदान सम्बन्धी सम्झौता ।

३. नेपाल सरकार र कतार सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र ।

४. नेपाल सरकार र कतार सरकारबीच युवा तथा खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र ।

५. महान्यायाधिवक्ताको कार्यालय र कतारको सार्वजनिक अभियोजन कार्यालयबीच सहकार्यका लागि समझदारी पत्र ।

६. नेपाल सरकारको परराष्ट्र मामिला अध्ययन संस्थान र कतारको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक तालिम र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र ।

७. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबीच संयुक्त व्यापार परिषद् स्थापना गर्ने सम्झौता ।

८. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबीचको समझदारी नवीकरण ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij