काठमाडौं– राजश्व अनुसन्धान विभागले एक कम्पनी विरुद्ध ५ अर्ब बढी राजश्व छली गरेको कसुरमा मुद्दा दायर गरेको छ । विभागले आइतबार उच्च अदालत पाटनमा नेपालमा रहेकाे एक अमेरिकी सफ्टवेयर खरिद बिक्री गर्ने कम्पनीमाथि राजश्व छलेकाे आरोपमा मुद्दा दायर गरेको हाे ।
विभागले हात्तीसारमा रहेको “कोटिभिटी” नामक कम्पनीसँग कुल १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ मागदाबी समेत गरेकाे छ । विभागले कम्पनीमाथि ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगो र त्यसको दोब्बर सजाय समेत कुल १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ मागदाबी गरेकाे हाे ।
मुख्य कम्पनीको लागि व्यवसायिक कारोबार गर्ने, मुख्य कम्पनीको व्यवसायिक प्रतिनिधित्व गर्ने तथा मुख्य कम्पनीको नेपालस्थित कानुनी रुपमा मान्य प्रतिनिधिसमेत देखिँदा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची–२ को दफा २ (क) आकर्षित हुने नदेखिएको सन्दर्भमा कर असुल गर्नुपर्नेमा असुल गरेको नदेखिएकोले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ७ (क) र ७ (ख) आकर्षित हुने देखिएकोले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा १० को उपदफा (३) बमोजिम थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने निर्णयसमेत भएको विभागले जनाएको छ।
राजस्व चुहावट नियन्त्रणमा विभागले एउटै व्यवसायिक कम्पनीलाई यति ठुलो मात्राको सजाय मागदावी गरी अभियोग दायर गरेको यो पहिलो पटक हो। कोटिभिटि नेपाल हात्तीसार काठमाडौँ, अमेरिकी होल्डिङ कम्पनी कोटिभिटी इंक जोन्स रोड वेल्थह्यामको सहायक कम्पनी हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij