काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने छ । अहिले अधिकांश संस्थागत विद्यालयको नाम नियमावलीअनुसार नभएको भन्दै एक महिनाभित्र फेर्न सूचना जारी भएको हो ।
‘नेपालीपन झल्कने नाम नभएका विद्यालयहरूले नियमावलीमा व्यवस्था भए बमोजिम विद्यालयको नामाकरण गर्नको लागि प्रक्रिया अघि बढाइ एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेश गर्नहुन अनुरोध छ,’ महानगरपालिकाले बिहीबार जारी गरेको सूचनामा भनिएको छ ।
त्यसैगरी महानगरपालिकाले बिहीबार नै अर्को सूचना जारी गरेर भाडामा लगाएका सामुदायिक विद्यालयको सम्पत्तिको कागजपत्र ७ दिनभित्र उपलब्ध गराउन भनेको छ ।
‘विद्यालयको स्वामित्वमा रहेका भवन, कोठा, सटर, जग्गा वा अन्य भौतिक संरचना तेस्रो पक्षलाई भाडामा दिएको छ भने उक्त निर्णय र सम्झौताका कागजातका प्रमाणित प्रतिलिपिहरू उपलब्ध गराउनू,’ महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij