काठमाडौं – जीवन बीमक संघ नेपालले बीमा क्षेत्रका पाँच पूर्व कार्यकारी अधिकृत (सिईओ) हरुलाई सम्मानित गरेको छ । बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने पूर्व सिईओहरुलाई सम्मानित गरेको हो ।
बिहीबार संघले एक औपचारिक कार्यक्रमको आयोजना गरी नियामक निकाय बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितीमा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । जीवन बीमक संघ नेपालले पूर्वसीईओ रमेशकुमार भट्टराई, मनोजकुमार भट्टराई, कवि पाठक, निर्मल ढकाल र एलपी दासलाई सम्मान गरेको छ ।
कार्यक्रममा विशेष कारणले गर्दा निर्मल ढकाल र एलपी दासको उपस्थिती नरहेको संघका अध्यक्ष तथा सिटिजन लाइफका सिईओ पोषकराज पौडेलले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरु सम्मानित गरी आउने समयमा पनि उहाँहरुको अनुभवलाई प्रयोग गरी बीमा क्षेत्रलाई थप अगाडी बढाउनु पर्ने बताए । साथै, उनले बीमा क्षेत्रलाई विकास गर्न र यसको दायरा अगाडी बढाउन योगदान पुर्याएका पूर्व सीईओहरुलाई धन्यवाद पनि व्यक्त गरे ।
कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पौडेल, नेपाल लाइफका सीईओ प्रविण रमण पराजुली, सूर्यज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्री तथा रिलायबल नेपाल लाइफका सीईओ नारायण बाबु लोहनीको उपस्थिती रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij