२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अन्तरवार्ता

शिक्षालाई उद्यमशिलतासंग जोड्नु पर्दछ

शिक्षालाई उद्यमशिलतासंग जोड्नु पर्दछ

9.4K
Shares

 

धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ५ का हरि सिंह के.सी.ले गाउँकै विद्यालयबाट एसएलसी पास गरेपछि काठमाडौंको त्रिभुवन विश्वविद्यालयबाट एमएसी उत्र्तिण गरे । त्यसपछि केसी २०५७ सालबाट शिक्षण पेशामा आवद्ध भएका हुन । शिक्षा क्षेत्रमा लामो अनुभव संगालेका केसी साउथवेस्टन स्टेट कलेजको सहायक क्याम्पस प्रमुखका रुपमा कार्यरत रहेका छन् । उनी कलेजका संचालकका साथै साउथ वेस्टन एकेडेमिक रिसर्च सेन्टरका अध्यक्ष पनि रहेका छन् ।
दुई दशक भन्दा लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय रहेका के.सी.धेरै देशहरुको भ्रमण गर्ने अवसर पनि पाएका छन् । शिक्षकको रुपमा शिक्षा क्षेत्रमा प्रवेश गरेका के.सी. अहिले सञ्चालकको रुपका साथै नीति निर्माण, यसका विभिन्न आयामका बारेमा तालिम, सेमिनार, गोष्ठि आदीमा सक्रिय रुपमा देश तथा विदेशका कार्यक्रमहरुमा सहभागीता जनाइसकेका छन् । हरि सिंह के.सी.संग शिक्षा क्षेत्रका बारेमा अर्थ नेपाल डटकमका लागि मनोज थापाले गरेका कुराकानीको सम्पादीत अंश :


साउथवेस्टन स्टेट कलेजको स्थापना कहिले भएको हो ? कसरी सुरुवात गर्नु भयो ?
– साउथ वेस्टन स्टेट कलेज आज भन्दा १४ वर्ष अघि १२९ जना विद्यार्थीबाट सूरु भएको हो । कलेज प्लस टु कार्यक्रमबाट सुरु भएको हो । हाल साउथ वेस्टन स्टेट ग्रुप अन्तर्गत साउथवेस्टन स्टेट कलेज, साउथवेस्टन विजनेश कलेज, साउथवेस्टन स्टेट स्कुल, साउथवेस्टन एकेडेमिक रिसर्च सेन्टर फर रिसर्च एण्ड पिएचडी स्टडीज रहेका छन । अहिले पिजीदेखी पिएचडीसम्ममा गरेर ५ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

 यो कसरी सम्भव भयो ?
मलाई लाग्छ असम्भव भन्ने केहि हुँदैन । यदि मान्छेसंग इच्छा शक्ति, लगनशिलता, इमानदारिता र मेहनत भयो भने सबै सम्भव हुन्छ । आफुले आटेको काममा सफलता हासिल गर्न धेरै कुराको मिश्रण गर्न सक्नु पर्दछ । अनि मात्र असम्भव कुरालाई सम्भवमा परिणत गर्न सकिन्छ । सुरुको वर्ष हामीले ढिला र प्रचार कम भएको कारण विद्यार्थी कम भएपनि दोस्रो वर्षबाट हामीलाई आवश्यक विद्यार्थी पाउन सफल भयौं । यसको मुख्य कारण भनेको हामीले दिने शिक्षा, दक्ष अनुभवि शिक्षक, व्यवसायीक व्यवस्थापनका कारण अभिभावक र विद्यार्थीको रोजाईमा हाम्रो कलेज पर्न सफल भएको हो । आश्वयक पुर्वाधार, ल्याव, शैक्षिक वातावरणका साथै गुणस्तरिय, संस्कार युक्त शिक्षाको कारण हामी सबैको पहिलो रोजाईमा परेका हौं ।
प्राक्टिकलसहितको शिक्षामा नै हाम्रो जोड हो । गरिखाने शिक्षा आजको आवश्यकता हो । त्यसैलाई आत्मसाथ गर्दै अघि बढेका छौं । कलेजबाट बाहिर निस्केपछि अरुसंग प्रतिस्पर्धा गर्न सक्ने सक्षम व्यक्ति बनाउनु नै हाम्रो मुख्य लक्ष्य हो ।

 पछिल्लो समय विद्यार्थीहरु अध्ययनको लागि विदेश पलायन हुनुको कारण के होला ?
– विद्यार्थी पलायन हुनुका धेरै कारणहरु छन् । अहिले उच्च शिक्षा अध्ययन गर्न जाने माहोल बनेको छ । मलाई कता कता बैदेशिक अध्ययन गर्ने जाने फेशनको रुपमा पनि अघि बढेको जस्तो लाग्छ । नेपालमा पढाई हुने शिक्षाको पाठ्यक्रम, शिक्षाका विषयहरु, शिक्षक र कलेजहरु ठिक छन् । मुख्य समस्या भनेको समयमा भर्ना, परिक्षा, नतिजा सार्वजनिक नहुनु हो । शैक्षिक क्यालेण्डर अनुसार काम हुने हो भने समस्या हुँदैन । परिक्षा भएको १८ महिनासम्म रिजल्ट नुहुँदा विद्यार्थीमा अन्यौला बढ्दै गएको छ । हरेक दिन वा हरेक समय नकारात्मक कुरा मात्रै सुन्ने । अर्को कुरा विद्यार्थीलाई नेपालमा भविष्य देखाउन सकिएन । पाठ्यक्रम, विषयसुचि, शैक्षिक कार्यक्रम ठिक भएपनि समस्या कहाँनिर हो भने नेपालमा अवसरहरु छन्, यहाँ पनि केहि गर्न सकिन्छ भनेर देखाउन र बुझाउन सकिएन । सामाजिक सञ्जालमा नेपाल बिग्रियो, यहाँ केहि हुँदैन, यहाँ भविष्य छैन् जस्ता कुराहरु मात्र आउँदा स्कुल पढ्ने विद्यार्थीहरुको मानसिक रुपमा नै यहाँ बस्न नहुने रहेछ भन्ने भएको छ । जसको कारण प्लस टुको अध्ययन पछि विदेश जानेको संख्या बढ्दै गएको छ ।
शिक्षालाई उद्योग, रिसर्च, इन्टरशिपसंग जोड्नु पर्दछ । अध्ययनपछि रोजगारीमा जाने वातावरण राज्यले गर्नु पर्दछ । त्यो राज्यले गर्न सकेन । अर्को समस्या भनेको योजना आयोग, शिक्षा मन्त्रालय र विश्वविद्यालय विच समन्वय आवश्यक छ । किन भने कुन क्षेत्रमा कति विद्यार्थी उत्पादन गर्नु पर्दछ, कुन विषयका विद्यार्थी आवश्यक छन् भन्ने कुरा योजना आयोगले दिनु पर्दछ । त्यो दिन सकेन विश्वविद्यालय आफ्नै गतिमा विद्यार्थी उत्पादन गर्दै जाँदा समस्या भएको हो । विद्यार्थीलाई नेपालमा नै भविष्य बनाउन शिक्षालाई उद्योगसंग जोड्नु पर्दछ जस्तो लाग्छ । जम्मा कलेजको संख्या र कलेजहरुमा विद्यार्थीको संख्याको बारेमा पनि अध्ययन हुन आवश्यक छ ।
अहिले सामाजिक रुपमा विद्यार्थीहरु देखासिकिमा विदेश गएको देखिन्छ । अभिभावक पनि अरुको बच्चा विदेश गएको देखेपछि आफ्नो पनि जसरी नि पठाउने भन्ने सोचले गर्दा पनि समस्या भएको छ । कति बुझेर गएका छन् भने कति नबुझेर उच्च शिक्षा अध्ययन गर्न विदेश गएका छन् । उच्च शिक्षा अध्ययनका लागि विदेश गएका सबैले अध्ययन गरेको पाइदैन । जान खोज्ने र पठाउन चाहाने कारण पनि विदेश जानेको संख्या बढेको छ ।

 अब नेपालमा उच्च शिक्षा पढ्न विद्यार्थी नै नपाउने अवस्था आउने त होइन ।
– अब उच्च शिक्षामा यहि गतिमा अघि बढेमा ठुलो संकट आउने अवस्था छ । अहिले धेरै कलेजहरु मर्ज हुने अवस्था पुगेका छन् भने सञ्चालनका लागि नै समस्या आउन थालेको छ । विद्यार्थी पाउन मुस्किल बन्दै गएको छ । उच्च शिक्षामा समस्याग्रस्त हुन सक्छ । अब राज्य गम्भिर हुनु पर्ने अवस्था आएको छ । नीति निर्माण तहमा रहेकाहरुले यस विषयमा गम्भिर छलफल गरेर समस्यको समाधान गर्नु पर्ने भएको छ ।
अब शिक्षाको क्षेत्रमा नयाँ ढंगबाट अघि बढ्नु पर्दछ । नयाँ रोडम्याप तयार गरेर शिक्षा क्षेत्रमा देखिएको समस्या हल गर्नु पर्दछ । अन्यथा प्लस टु पछिका विद्यार्थीहरु नेपालमा पाउन मुस्किल हुने देखिन्छ । बाँकी युवा पनि बैदेशिक रोजगारमा जाँदा थप समस्याहरु आउने अवस्था सृजना भएको छ ।

 विश्वविद्यालयहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना भएको हो ?
– नेपालमा स्कुल शिक्षा कस्तो हुनुपर्छ ?उच्च शिक्षा कस्तो हुनुपर्दछ र शिपमुलक शिक्षा कस्तो हुनु पर्दछ भनेर राजनैतिक नेतृत्वले मोडल तयार गरेर ब्लुपिन्ट तयार गर्न आवश्यक छ । शिक्षालाई उद्यमशिलता, रिसर्च, इन्टरशिपसंग जोड्नु पर्दछ । तर नेपालमा त्यो हुन सकेको छैन् । अहिले पढ्ने, पढाउने र फाइनल परिक्षा दिएर प्रमाणपत्र दिने बाहेक अरु हुन सकेन । र व्यक्ती तयार पार्ने काम मात्र भयो जसले गर्दा सिप बोकेर विद्यार्थी आउने अवस्था भएन । विद्यार्थीलाई क्रियटिभ, इनोभेटिभ बनाउन सकिएन । विद्यार्थीलाई जवसम्म व्यवहारिक, सिपमुलक, उद्यमशिलतासंग जोड्न सक्दैनौ तबसम्म केहि हुँदैन । जसको कारण विश्वविद्यालयहरु र विद्यार्थी मात्र तयार गर्ने अवस्था बनेको हो ।
योजना आयोग, शिक्षा मन्त्रालय र विश्वविद्यालयविच छलफल गरेर कुन विषयमा कति जनशक्ति चाहिने हो त्यसको योजना बनाउनु पर्दछ ।

 शिक्षा नीति नै मुख्य समस्या हो ?
– यसमा रोचक कुरा छ । हामीसंग २०२८ सालमा आएको शिक्षा ऐन अनुसार चलिरहेका छौं । यो हुँदै भएन । शिक्षा ऐन समय अनुसार परिर्वतन हुँदै जानुपर्ने हो, त्यो हुन सकेन । त्यसले अहिले समस्या निम्त्याएको हो । खासमा तीन वटा विद्येयक समयमा बनाउन सक्नुपर्छ । पहिलो विद्यालय शिक्षा विद्येयक, दोस्रो उच्च शिक्षा विद्येयक र तेस्रो शिपमुलक तथा प्राविधिक शिक्षा विद्येयक हुनुपर्ने हो ।
तर अहिले ल्याउन लागिएको शिक्षा विद्येयक पनि शिक्षक विद्येयक भन्दा फरक नपर्ने छ । खासमा समस्या शिक्षकको बारेमा मात्र धेरै बोलेको छ । गुणस्तरको बारेमा केहि बोलेको छैन् । मेरो विचारमा यो विद्येयक फिर्ता लिएर पुर्नलेखन हुनुपर्दछ । यसमा शिक्षा क्षेत्रका विज्ञ, प्राध्यापक, पुर्वप्रशासक बसेर अब शिक्षा कस्तो हुने विदेशको अभ्यास र यहाँ भएको अवस्थालाई तुलना गरेर अब कस्तो विद्येयक ल्याएमा गुणस्तरिय शिक्षामा केन्द्रीत हुन सक्छौं, साथै विद्यार्थीलाई पनि नेपालमा नै अध्ययन गर्न मन लाग्ने वातावरण तयार गर्न सक्छौं । विदेशी विद्यार्थीलाई पनि नेपालमा उच्च शिक्षा अध्ययन गर्न नेपालमा आउने अवस्था सृजना हुन सक्छ ।
हामीमा सरकार, निजी क्षेत्र, दातृ निकाय, सुरक्षा निकायले विद्यालय सञ्चालन गरिरहेका छन । कुन मोडलमा विद्यालय सञ्चालन गर्ने भन्ने छैन् । यस्ता कुरालाई राज्यले तुरुन्तै सम्बोधन गर्न आवश्यक छ । सरकारीले मात्र विद्यालय सञ्चालन गर्नकी अहिले भैरहेको मोडल अनुसार अगाडी बढ्ने, यसमा राज्यको निर्णय आउनु पर्छ । यसको सम्भावजन सरकार एक्लैले सक्दैन । यसमा राजनीतिक पार्टी को सहमती र सहकार्यबाट सम्भव हुन सक्छ । कि सरकारले मात्र सञ्चालन गर्ने कि मिश्रण मोडलमा जाने हो टुङ्ग्याउनु पर्दछ । अब समय छैन् कुन मोडल अपनाउने हो, त्यो अनुसार अघि बढ्नु पर्ने देखिन्छ । अब विद्यालय शिक्षा, उच्च शिक्षा र सिप तथा प्राविधिक शिक्षाको मोडल कस्तो बनाउने भन्नेमा नीति निर्माताहरु गम्भिर हुनु आवश्यक छ । यी कुराहरु समाधान नभएसम्म धेरै शिक्षामा देखिएका समस्या हल हुँदैन । नीतिसहि भएमा मात्र अन्य कुराहरु पनि सहि हुन्छन् ।

 एउटा योग्य, सक्षम नागरिक बन्नका लागि विद्यालयको भुमिका कस्तो हुनुपर्छ ?
विद्यालय शिक्षामा नैतिक र संस्कार युक्त शिक्षाको आवश्यता छ । जसको कारण उसले देशका लागि केहि गर्ने लक्ष्य र उद्देश्य राख्दछ । साथै आफ्नो कतव्र्य र दायित्वको बोध हुन्छ । आफुले के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने कुरा सिक्न र सिकाउन आवश्यक छ । आज विद्यार्थीलाई व्यवहारिक र प्राविधिक शिक्षा आवश्यक देखिन्छ । नैतिकवान बनाउन सकेमा मात्र पनि धेरै कुरा हुन सक्छ । गुणस्तरिय व्यवहारिक प्राविधिक शिक्षा नै आजको आवश्यकता हो जस्तो लाग्छ ।
विशेषगरी राज्यले आम नागरिकलाई सहज र सरल सेवा प्रवाह गर्नु पर्ने पनि देखिन्छ । जसको कारण विद्यार्थीहरुमा पनि राष्ट्रप्रति केहि गर्नु पर्छ भन्ने भावनाको विकास हुन सक्छ ।

 विद्यार्थीको लागि अभिभावकको भुमिका कस्तो हुनुपर्दछ ?
– एउटा विद्यार्थी विद्यालय होस, उच्च शिक्षा हासिल गर्दा होस अभिभावक, शिक्षक र विद्यार्थीको समन्वयमा मात्र सम्भव रहन्छ । यहाँ सबैले आफ्नो जिम्मेवारी पुरा गर्ने हो भने समस्या हुँदेन । विद्यार्थीको भविष्यका लागि तीन वटै पक्षको भुमिकाले प्रभाव पार्दछ । एउटा मात्र समस्या भएमा सबै तिर समस्या पर्ने देखिन्छ ।
मेरो विचारमा अभिभावकले आफ्ना बालबालिकालाई समय दिनुपर्दछ । अन्य बच्चाहरुसंग तुलना गर्न हुँदैन । साथै अभिभावकले आफनो बालकालिकाको रिजल्ट मात्र होइन उसको उमेरमा उसले गर्ने काम, कुरालाई पनि ध्यान दिनु पर्दछ । घरको काममा पनि उसलाई सिकाउन आवश्यक छ । छोराछोरीलाई जिउने कला सिकाउन आवश्यक देखिन्छ । शिक्षासगैं व्यवहारिक शिक्षा आवश्यक छ । अभिभावकले आफ्नो छोराछोरीको क्षमता हेरेर विषय छनोट गर्नु पर्दछ । एसइईको नम्बर हेरेर विषय छनोट गर्नु हुँदैन ।

प्रविधिको विकाससगैं अब अभिभावकले आफ्ना छोराछोरीलाई धेरै कुरामा ध्यान दिन आवश्यक छ । शिक्षक, विद्यार्थी र अभिभावक विचमा नियमित छलफल हुनु आवश्यक छ । अहिले कोभिड पछाडी धेरै कुरामा ध्यान दिनुपर्ने देखिन्छ ।
अन्यथा विद्यार्थीहरुमा ठुलो रुपमा मानसिक समस्या आउने दखिन्छ ।

 अन्त्यमा ?
शिक्षामा राजनीतिक हस्तक्षेप मुक्त हुन जरुरी छ । शिक्षाका क्षेत्रका सरोकारवालाहरु बसेर शिक्षाको व्लुप्रिन्ट बनाउन आवश्यक छ । शिक्षा देशको मेरुदण्ड हो । त्यसका लागि सबै जिम्मेवार भएर लाग्नु पर्दछ । युवाहरुलाई देशमा नै अवसर सृजना गरेर यस्तै बस्ने वातावरण बनाउनु पर्दछ ।

विद्यार्थीलाई अब स्कुल तहबाटै कमाउन सिकाउनु पर्दछ । उनीहरुलाई रुची अनुसारको क्षेत्रमा साप्ताहिक रुपमा केहि घण्टा काम गर्ने वातावरण सृजना गर्न आवश्यक छ । उनीहरुलाई जिउने कला सिकाउन आवश्यक छ । उनीहरुलाई सानैबाट आत्मनिर्भर बनाउनु पर्दछ । अभिभावकले आफ्ना छोराछोरीलाई जिम्मेवार नागरिक बनाउन विशेष ध्यान दिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij