काठमाडौं – हवाई सेवा प्रदाय संस्थाहरूको छाता संगठन वायुसेवा सञ्चालक सङ्घको अध्यक्ष पदमा मनोज कार्की चयन भएका छन् । समिट एयरका प्रबन्ध निर्देशक रहेका उनलाई सङ्घको बिहीबार भएको २३औँ वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि निर्विरोध अध्यक्ष चयन गरेको हो ।
त्यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डे, प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पा, उपाध्यक्षमा श्रीएयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धर, महासचिवमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा, सचिवमा मुरलीधर जोशी र कोषाध्यक्षमा बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशी चयन भएको सङ्घले जनाएको छ । सदस्यमा उमेश पनेरु, बालकृष्ण श्रेष्ठ र उमेश आचार्य चयन भएका छन् ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन सेवाप्रदायक जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । मुलुकको पर्यटन क्षेत्रको विकासमा हवाई क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै हवाई उद्योगको विकास निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरे ।
सङ्घका नवनिर्वाचित अध्यक्ष कार्कीले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सबै सरोकारवालाको साथ लिएर अघि बढ्ने विश्वास व्यक्त गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij