काठमाडौं – बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ। बचतकर्ताको सवा एक अर्ब रूपैयाँ हाराहारी रकम हिनामिना गरेको आरोप लागेका उनीहरुलाई प्रहरी पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डेयलाई प्रहरीले पक्राउ गरेको हो।
लुम्बिनी प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयको प्रतिवेदन र बचतकर्ताको उजुरीपछि अध्यक्ष गुरूङ र व्यवस्थापक पाण्डेयलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले अध्यक्ष गुरूङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
रूपन्देही लगायत आसपासका जिल्लाका दस हजार ३९१ जना बचतकर्ताको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रूपैयाँ हिनामिना गरी विगत एक वर्षदेखि संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक गितेन्द्र बहादुर ( जिबी) राई भने सम्पर्कबिहीन छन्।
सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रूपैयाँ ऋण दिएको थियो। राईले आफूआबद्ध रहेको गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न पाँचवटा मितिमा १२ करोड १४ लाख ८४ हजार ८६० रूपैयाँ, जिपी ग्रुप एन्ड कम्पनी लिमिटेडमा विभिन्न सातवटा मितिमा गरी १४ करोड ९९ लाख ५९ हजार ५२० रूपैयाँ र स्प्रिङ उड रियल स्टेट हाउजिङ प्रालिमा तीनवटा मितिमा ६ पटक गरी १८ करोड २१ लाख ७८ हजार १८३ रुपैयाँ ऋण लगेका थिए।
त्यस्तै राई सञ्चालक रहेको नेचर नेस्ट प्रालिमा विभिन्न तीनवटा मितिमा दुई करोड ८९ लाख ७१ हजार ८८५ र गितेन्द्र बाबु ९जिबी० राईका नाममा तीनवटा मितिमा ६ करोड २० लाख ८८ हजार ४८९ रूपैयाँ गरी ७८ करोड ५० लाख ७६ हजार बढी रकम ऋण दिएको थियो।
पाँचवटा कम्पनीमा लगेको ऋणबापत राईले सहकारीलाई ब्याज मात्रै नौ करोड १९ लाख एक सय रूपैयाँ बुझाउनुपर्ने छ। साँवा र ब्याज गरी ८७ करोड ६९ लाख ७६ हजार ७६५ रूपैयाँ लिएर राई सम्पर्कबिहीन भएका छन्।
त्यस्तै अन्य सञ्चालक तथा विभिन्न ५२ जना ऋणीलाई दिएको २४ करोड ३ लाख ९३ हजार ७२५ रूपैयाँ पनि सहकारीले उठाउन सकेको छैन। ती ऋणीले पनि ब्याजबापत मात्रै ३ करोड ९८ लाख १९ हजार ७७५ रूपैयाँ बुझाउन बाँकी देखिन्छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij