काठमाडौं- बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज प्रतिवेदन पेस गरेको छ । उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोगले ४४ दिनमा प्रतिवेदन बुझाएको हो ।
गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो । घटनापछि सरकारले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो ।