काठमाडौं– हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.३८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको खुद बिक्री आम्दानी २६.१५ प्रतिशत घटेर ९५ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३०.७३ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी २९.१३ प्रतिशत र सञ्चालन मुनाफा ४१.७६० प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ११ रुपैयाँ ९८ पैसा घटेर १२ रुपैयाँ २५ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३९.७९ गुणा रहेको छ।
२ अर्ब ६७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४८ करोड १५ लाख रुपैयाँ सञ्चित छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij