२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना

इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना

1.8K
Shares

काठमाडौँ – सिभिल सहकारी ठगी प्रकरणमा मुछिएका इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना तोकिएको छ । आइतबार विशेष अदालतले सजाय निर्धारण गर्दै ३ वर्ष कैदको फैसला सुनाएको हो । गत माघ ७ गते कसुर ठहर भई आइतबार सजाय निर्धारण हुँदा तामाङलाई उक्त फैसला सुनाइएको हो ।

आइतबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर तथा सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । सजाय निर्धारण गर्दै इजलासले प्रतिवादी इच्छाराज तामाङलाई तीन वर्ष कैदसहित बिगो रकम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ कायम भएको छ ।

त्यस्तैगरी अर्का प्रतिवादी सिभिल सहकारीका अध्यक्ष रहेका केशवलाल श्रेष्ठलाई पनि १ वर्ष ६ महिना कैद सजाय गरिएको छ भने २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ बिगो भराउने फैसला भएको छ । यता इच्छाराजको श्रीमती सिर्जना शाक्यबाट १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो भराई १ वर्ष ६ महिना कैद सजाय हुने ठहर गरिएको छ ।

त्यस्तै गरी प्रतिवादीहरु इच्छाराज तामाङ र सिर्जना शाक्यले छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा लुकाएको सम्पत्ति तथा प्रतिवादी केशवलाल श्रेष्ठको श्रीमती मीना श्रेष्ठको नाममा राखिएको सम्पत्तिसमेत जफत हुने फैसला गरिएको छ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा सम्पत्ति जफत हुने फैसला गरिएपनि सिभिल सहकारीका निक्षेपकर्ताहरु पीडित रहेको कारण काठमाडौँ जिल्ला अदालतमा जारी ठगी मुद्दामा कसुर ठहर भएमा सो सम्पत्तिको पहिलो प्राथमिकता पीडितहरुलाई हुने समेत फैसलामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij