काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्म बैंकले ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १९२.१६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात (एनपील) बढेर ४.४७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ३.१७ प्रतिशत थियो। खराब कर्जा बढ्दा बैंकको खुद ब्याज आम्दानी घटेको छ। यो ६ महिनामा बैंकको खुद ब्याज आम्दानी २१.११ प्रतिशतले घटेर ६ करोड ११ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ७ करोड ७५ लाख रुपैयाँ थियो।
बैंकले समीक्षा अवधिसम्म ४ करोड ७८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ करोड ६३ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा १९२.१६ प्रतिशतले बढेको छ। बैंकको निक्षेप संकलन र कर्जा प्रवाह बढेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप संकलन बढेर ४ अर्ब ६६ करोड रुपैयाँ र कर्जा प्रवाह ३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब ३९ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
चुक्तापुँजी ५० करोड २८ लाख रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ६९५.३८ प्रतिशतले बढेर ३९ करोड २३ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ४ करोड ९३ लाख रुपैयाँ थियो। बैंकको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ९.५१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३.२६ रुपैयाँ थियो। पीई रेसियो ४१.७४ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ ११०.१७ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij