काठमाडौं– कृषि विकास बैंकले आफ्नो ५७ औं वार्षिकोत्सव सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसर पारेर बैंकले बैंकको ओभरड्राफ्ट कार्ड समेत जारी गरेको छ।
ओभरड्राफ्ट कार्डले डेविट र क्रेडिट दुबैको काम गर्दछ। खातामा पैसा हुँदासम्म डेविट कार्डको र नहुँदा क्रेडिट कार्डको काम गर्ने हुँदा अवका दिनहरुमा २ वटा छुट्टा छुट्टै कार्ड बोक्नु पर्ने झण्झटबाट मुक्त हुने बैंकका कर्मचारीहरु बताउँछन्।
त्यसैगरी कलसेन्टरबाट ग्राहकहरुको गुनासो सुनुवाइ अझ प्रभावकारी ढंगले हुने मात्र नभई असुली ताकेता, मुद्दती निक्षेप नवीकरणको जानकारी लगायतका कार्यहरु संचालन गरिने बैंकले जनाएको छ। गत आइतबार बैंक परिसरमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए।
प्रमुख अतिथि गभर्नर अधिकारीले बैंकहरुले पछिल्लो समयमा गरेको प्रगति राम्रो भएकोले लगानीको मार्ग प्रशस्त भएको विचार व्यक्त गरे।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्णमा स्वागत गर्दै बैंकका प्रमुख कार्यकारी अधिकत गोविन्द गुरुङले हाल बैंकको गतिविधिको समेत जानकारी दिएका थिए।
समारोहमा कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बैंकका उपमहाप्रबन्धकहरु, विभागीय प्रमुखहरु, कर्मचारीहरु, पत्रकारहरुको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij