२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न समिति गठन

धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न समिति गठन

845
Shares

काठमाडौं – सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन गरेको छ। आज बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो।

श्रेष्ठको संयोजकत्वमा गठन गरिएको तीन सदस्यीय सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्यमा छन्। धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ अनुसारनै राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको हो। धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहनेगरि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा सिफारिस गर्ने समिति गठन गर्नुपर्ने व्यवस्था यस ऐनमा छ।

यस समितिले प्राप्त निवेदनबाट कम्तीमा तीनजनाको नाम सिफारिस छनौट गर्नुपर्नेछ। यसरी छनौट गरिएका तीन जनामध्ये मन्त्रिपरिषद्ले एकजनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रावधान छ ।अध्यक्षबाट पुस २० मा रमेश हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्ड अध्यक्षबिहिन अवस्थामा छ। धितोपत्रबजारको नियमन गर्ने बोर्डको कार्यकारी भूमिका हुने अध्यक्षको कार्यकाल सकिनुअगाडि नै नयाँ अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने हो । तर, अध्यक्ष रिक्त भएको १५ दिनपछि मात्रै सरकारले सिफारिस समिति गठन गरेको हो ।

अध्यक्षले धितोपत्र बोर्डको प्रशासकीय प्रमुखको रुपमा दैनिक कार्य सञ्चालन गर्ने गर्छन् । अर्थात् धितोपत्र बोर्डको अध्यक्ष कार्यकारी पद हो । कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको व्यक्ति बोर्डको अध्यक्षका लागि योग्य हुने धितोपत्र सम्बन्धी ऐन २०६३ मा उल्लेख छ ।

अध्यक्षको पदावधि चार वर्षको हुने र उसलाई पुनः बढीमा चार वर्षको लागि नियुक्त गर्न सकिने व्यवस्था पनि ऐनमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij