२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

घोराही सिमेन्टको साधारण सभा सम्पन्न

घोराही सिमेन्टको साधारण सभा सम्पन्न

1.3K
Shares

घोराही सिमेन्ट्स इन्डष्ट्रीले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

साधारण सभामा घोराही सिमेन्टले प्रतिकुलताका बाबजुद आर्थिक वर्ष २०७९–८० मा ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको र आर्थिक २०८०–८१ को मंसिर महिनासम्म एक अर्ब ४२ करोड २५ लाख बराबरको सिमेन्ट बिक्री गर्न सफल भएको अध्यक्ष पुरुषोत्तम लाल संघईले जानकारी दिए।

आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ३ अर्ब ९७ करोड १९ लाखको १४.२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रूपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) २ करोड ९७ लाख रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हाल कम्पनीको अधिकृत पुँजी ६ अर्ब ८० करोड र जारी तथा चुक्ता पुँजी ३ अर्ब ९७ करोड १९ लाख रूपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरे पछि कम्पनीको जारी तथा चुक्ता पुँजीमा वृद्धि भई ४ अर्ब ५३ करोड रूपैयाँ कायम हुनेछ। त्यस्तै कम्पनीको सञ्चालक समितिका सदस्य गोविन्द लाल संघई र हर्षवर्धन संघईले कार्य अवधि बाँकी हुँदै व्यक्तिगत कारणले २०८० कात्तिक २ गते राजीनामा दिएकाले सोही मितिमा रिक्त रहेको सञ्चालक पदमा अन्जु संघई र विवेक अग्रवाललाई नियुक्त गरिएको अध्यक्ष संघईले जानकारी दिएका छन्।

यो सँगै कम्पनीको संस्थापक समूहमा ५ जना सञ्चालक भएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij