काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो ।
सेयर बिक्रीका निम्ति अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ । अर्थको सहमतिपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । प्राधिकरण सञ्चालक समितिको गएको मंसिर २५ गते बसेको बैठकबाट आवश्यक निर्णय गरिएको छ । सञ्चालक समितिले अर्थ मन्त्रालयबाट अधिकृत पुँजी तीन खर्ब रुपैयाँ कायम गर्न सहमति भएकाले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्समक्ष स्वीकृतिका निम्ति अनुरोध गर्ने निर्णय गरेको छ ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ बमोजिम खुद सम्पत्ति (नेटवर्थ)को दुई गुणासम्म प्रतिसेयर मूल्य कायम गरी प्रिमियम मूल्यमा हाललाई प्रस्तावित अधिकृत पुँजीको १० प्रतिशतसम्म सर्वसाधारणलाई सेयर जारी गर्न ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय भएको छ । सो निर्णय यही पुस १९ गते प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयमा पेस गरिसकेका छन् ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पनि सार्वजनिक संस्थालाई थप सबल बनाउने उद्देश्यका साथ सेयर जारी गर्न लागिएको बताएका छन् । सरकारले संस्थालाई आमनागरिकको बनाउने उद्देश्यका साथ यस्तो तयारी गरेको स्पष्ट पारेको छ । यसअघि नै सरकारले नेपाल दूरसञ्चार कम्पनीको समेत सेयर सर्वसाधरणमा बिक्री गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij