काठमाडौँ – नेपाल प्रहरीका पूर्वडिआइजी महेशविक्रम शाहसहित दुई जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा ३ वर्ष कैद सजाय निर्धारण गरेको छ। बुधबार अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पूर्वडिआइजी शाह र पूर्वसई दिपेन्द्रप्रसाद पनेरूलाई जनही ३ वर्ष कैद सजाय सुनाएको हो।
उनीहरू दुबै जनालाई पुस ११ गते विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको थियो। यस्तै उनीहरूलाई बिगो रकम १६ लाख ६९ हजार ०४२ रुपैयाँ जरिवाना र बिगो असुल समेत गर्न अदालतले आदेश दिएको छ।
२०७२ सालमा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूमाथि अनुसन्धान गरेको थियो। अनुसन्धानपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चार जनाको संलग्नता देखिएको भन्दै मुद्दा दायर गरेको थियो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ फागुन २० गते पूर्वडिआइजी शाह, पूर्वसई पनेरू, प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेविरूद्ध मुद्दा दायर गरेको थियो। ऐरी र विशुंखेले सफाइ पाएका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij