२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आजदेखि सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिन सकिने

आजदेखि सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिन सकिने

1.2K
Shares

काठमाडौं – सर्वोत्तम सिमेन्ट लिमिटेडले आज (पुस २५ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले उद्योग प्रभावित क्षेत्र नवलपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता निष्काशन गर्न लागेको हो। त्यसैगरी, कम्पनीले २ लाख ६७ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा माघ १० गते हुनेछ भने ढिलोमा माघ २५ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १० गतेसम्ममा आवेदन दिनु पर्नेछ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नवलपरासी जिल्लाको ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij