ललितपुर – लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनले ललितपुरको बागमती गाउँपालिका वडा नं ३ भट्टेडाँडास्थित सातकन्या आधारभूत विद्यालयका १०४ जना विद्यार्थीलाई स्कुल जुत्ता प्रदान गरेको छ ।
लायन्स क्लब इन्टरनेसनल ३२५ जे अन्तर्गत रहेको उक्त क्लबले जुत्ता र मोजा गरी करिब ५५ हजार रुपैयाँ बराबरको जुत्ता प्रदान गरेका हुन् । विद्यालयका १ देखि ८ कक्षासम्म अध्ययनरत १०४ जना विद्यार्थीलाई आवश्यक पर्ने गोल्डस्टार ब्राण्डको जुत्ता विद्यालयमा नै पुगेर प्रदान गरिएको हो ।
लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनले आफ्नो नियमित समाजसेवाका कार्यक्रमहरु सबै सातकन्या आधारभूत विद्यालयमा गर्दै आएको छ । यसअघि पनि क्लबले सबै विद्यार्थीलाई शैक्षिक सामाग्री तथा स्कुल पोशाक प्रदान गरिसकेको छ । छात्रावृत्तिस्वरुप १३ जना विद्यार्थीको भने सम्पूर्ण खर्च क्लबले व्यहोर्दै आएको छ ।

स्कुल जुत्ता वितरण कार्यक्रममा कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल ३२५ जे का रिजन चेयरपर्सन लायन पुरुषोत्तम बस्नेत, लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनका प्रेसिडेन्ट लायन उमेशकुमार पाण्डे, फस्ट भाईस प्रेसिडेन्ट लायन राम पण्डित, सेक्रेटरी लायन धूर्व बर्तौला खत्री उपस्थित थिए ।
कार्यक्रममा बोल्दै लायन पुरुषोत्तम बस्नेतले यस अघिका कार्यक्रममा आउँदा विद्यार्थीहरुको खाली गोडा देखेर नै जुत्ता प्रदान गर्ने सोच आएको बताए । उनले जहाँ आवश्यकता त्यहाँ लायन्स हुने भएकाले विद्यार्थीहरुलाई आवश्यक पर्ने अन्य कुराहरुमा पनि सहयोग गर्ने बताए । त्यस्तै विद्यालयका प्रधानअध्यापक राम प्रसाद घिमिरेले विद्यार्थीहरुको हौसला बढाएर शैक्षिक स्तर सुधार गर्न सहयोग गरेकोमा लायन्स क्लबलाई धन्यवाद दिए ।
लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनका प्रेसिडेन्ट लायन उमेश कुमार पाण्डेले जुत्ता खरीदका लागि सहयोग गर्ने क्लबका सबै सदस्यहरुलाई धन्यवाद दिए ।
लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनले आफ्नो महत्वकांक्षी प्रोजेक्ट अन्तर्गत शैक्षिक कार्यमा योगदान दिने उद्देश्यअनुरुप भट्टेडाँडास्थित सातकन्या आधारभूत विद्यालयलाई चयन गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij