काठमाडौं– शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा मन्दाकिनी हाइड्रोपावर र सिंगटी हाइड्रोको शेयरमूल्य समायोजन भएको हो। मन्दाकिनी हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र सिंगटी हाइड्रोले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायाेजन गरी नयाँ मूल्य निर्धारण गरेकाे हो।
यस दिन नेप्सेले मन्दाकिनीको ४.७५ प्रतिशत बोनस शेयर र सिंगटीको शतप्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात मन्दाकिनीको शेयरमूल्य ४०९ रुपैयाँ ३६ पैसा कायम भएको छ भने सिंगटीको २०२ रुपैयाँ ९० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा मन्दाकिनीको शेयर प्रतिकित्ता ४२८ रुपैयाँ ८० पैसा र सिंगटीको ३०५ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो।
मन्दाकिनी हाइड्रोपावरले पुस २९ गते, फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सिंगटी हाइड्रोले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij