काठमाडौं- सरकारले बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट सो घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरिएको हो । आयोगका सदस्यमा पूर्वएआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहेका सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
यो आयोगलाई एक महिनाको कार्यादेश दिइएको छ । आयोगको सुझावसहितको प्रतिवेदन बुझाएपछि सरकारले आवश्यक कदम चाल्ने उनले बताइन् ।
यही पुस १३ गते ईपीएस कोरिया भाषा परीक्षार्थीहरुको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा दुई जनाको मृत्यु भएको थियो । सोही दिन गृह मन्त्रालयले डीआईजी लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij