काठमाडौं -बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जर बापतको ११ अर्ब ३ करोड रुपैयाँ राजस्व बुझाएको छ। मर्जर र एफपीओमा कर असुल्ने सरकारको निर्णयलाई सर्बोच्च अदालतले सदर गरेपछि धमाधम बैंक तथा वित्तीय संस्थाले कर तिर्न थालेका हुन् । ३० बीमा तथा बैंकले ११ अर्ब ३ करोड रुपैयाँ राजस्व बुझाईसकेको राजस्व कार्यालयले जनाएको छ । सरकारको लेखा परीक्षण गर्ने महालेखा परीक्षकको कार्यालयले एफपीओको प्रिमियम र बार्गेन पर्चेज गेनमा कर छलि भएको भन्दै सरकारलाई कर उठाउन निर्देशन दिएको थियो ।बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जरबाट भएको आम्दानीमा आज कर तिरेका हुन् ।
करदाताले भोली पनि एफपीओको प्रिमियम र मर्जरमा भएको आम्दानीमा कर तिर्नेछन् । सो पश्चात् मात्रै अन्तिम विवरण आउने राजस्व कार्यालयको जानकारी छ । आन्तरिक राजस्व विभागले मातहतका कार्यालयले शनिबार कार्यालय खोल्न निर्देशन दिएको छ ।
महालेखाको निर्देशनपछि अर्थमन्त्री डा.प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेटमार्फत एफपीओको प्रिमियम र बार्गेन पर्चेज गेनको कर तिर्नुपर्ने व्यवस्था गर्दै मंसिर मसान्तसम्ममा कर तिरेको खण्डमा जरिवाना छुट गर्ने घोषणा गरेका थिए । उक्त घोषणाविरुद्ध बैंक तथा बीमा कम्पनी अदालत पुगेका थिए । सो रिट खारेज भएको कारण यती ठूलो मात्रामा रकम तिर्नुपरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij