२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ऋणीले आत्मदाहको दुष्प्रचार गरे– एनआइएमबी बैंक

ऋणीले आत्मदाहको दुष्प्रचार गरे– एनआइएमबी बैंक

875
Shares

काठमाडौं – व्यवसायी राजेश बास्कोटाले ऋण नदिएको भन्दै आत्मदाह गर्ने दुष्प्रचार गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उल्लेख गरेको छ। बैंकले विज्ञप्ति जारी गर्दै बास्कोटाले बैंक (तत्कालीन मेगा बैंक) बाट भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालि र बास्कोटा कृषि तथा पशुपालन प्रालिको नाममा जारी भएको कर्जा बारे भ्रामक प्रचार गरेको बताएको हो।

बास्कोटाको कृषि तथा पशुपालन प्रालिको नाममा स्वीकृत सम्पूर्ण कर्जा प्रवाह भइसकेको बैंकले बताएको छ। भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालिको नाममा स्वीकृत विभिन्न शीर्षकको परियोजना कर्जाको आंशिक कर्जा प्रवाह भएको बैंकले बताएको छ। यो कर्जा परियोजना निर्माणको प्रगतिको आधारमा जारी हुने कर्जा भए पनि यस्तो प्रगति नभएकोले बाँकी कर्जा प्रवाह नभएको बैंकले स्पष्ट पारेको छ। बैंकको प्रतिनिधिले व्यवसायको निरीक्षण गर्दा व्यवसाय अस्तित्वमा नै नरहेको अवस्था पाइएको समेत देखिएको बैंकले उल्लेख गरेको छ। बास्कोटा खराब कर्जा अन्तर्गत वर्गीकरण भइसकेका छन्।

‘त्यति हुँदाहुँदै व्यवसाय सञ्चालनमा नरहेको तथा निर्माण भएका संरचनाहरु समेत जिर्ण हुन लागिसकेको भिरपाखा रिसोर्ट एण्ड फनपार्कलाई पुनरुत्थान गर्ने उद्देश्य अनुसार यथाशीघ्र व्यवसाय सञ्चालन गर्ने शर्तमा बैंकले हालसालै पेश्की सहित केही कर्जा सुविधा चरणवद्ध रुपमा प्रवाह हुने गरी ऋण स्वीकृति पत्र जारी गरेको छ,’ बैंकको विज्ञप्तिमा भनिएको छ।

तर बास्कोटाले यो कर्जाको लागि आवश्यक कानुनी कागजातहरू पूरा नगरी सामाजिक सञ्जालमा बैंकविरुद्घ प्रचारबाजी गरिरहेको आरोप बैंकले लगाएको हो।
बास्कोटा कृषि तथा पशुपालन प्रालिको नाममा गएको कर्जा सहुलियतपूर्ण कर्जा भएको समेत बैंकले उल्लेख गरेको छ। नेपाल राष्ट्र बैंकको ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि अनुसार यो कर्जा स्वीकृत भएको तर बास्कोटाले बैंकलाई ब्याज अनुदान रकम बाहेकको किस्ता तथा ब्याज रकम चुक्ता नगरेको कारण कार्यविधिकै प्रावधान अनुसार ब्याज अनुदान सुविधा नपाएको समेत उल्लेख गरेको छ।

ब्याज अनुदान सुविधा बैंकको स्वविवेकले नभई नेपाल सरकारले नेपाल राष्ट्र बैंकमार्फत् बैंक तथा वित्तीय संस्थालाई जारी गरेको सहुलियतपूर्ण कर्जा भएको र यो ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिबाट निर्देशित हुनेभएकोले त्यही व्यवस्था अनुसार बास्कोटाले अनुदान नपाएको स्पष्ट पारेको छ।

२०८० मंसिर १९ गते बैंक र बास्कोटाबीच भद्र सहमति भएर नियामकी व्यवस्थाअन्तरगत ऋणीलाई बैंकले सक्ने जति सहयोग गर्ने प्रतिवद्वता गरेको थियो।
तर, बास्कोटाले सहमति जनाइसकेको अवस्थामा पनि बैंकलाई दबाब दिन आत्मदाहको धम्कि दिने, बैंकको कर्मचारीलाई अपहरणको शैलीमा उठाएर लगेको, ज्यान मार्ने तथा घरमा प्रेसर कुकर बम पड्काइदिने धम्की दिएको बैंकले उल्लेख गरेको छ।

यसले गम्भीर ध्यानाकर्षण भएको र घटनाको वास्तविक जानकारी प्रेश विज्ञप्तिमार्फत् दिइएको बैंकले उल्लेख गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij