काठमाडौं– हिमालयन रि इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले दश अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर जारी भएको छ। कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशन गर्ने भएको छ ।
सो मध्यमा २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन गरिसकेको छ । सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको दुई करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा सर्वसाधारणले छिटोमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन । सो समय भित्रमा जारी शेयर बिक्री नभएमा ढिलामा पुस ११ गतेसम्म आवेदन गर्न सकिने छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन्। ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij