काठमाडौँ – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न सरकारलाई निर्देशन दिएको छ ।
बुधबारको बसेको बैठकले सरकारलाई उक्त खरिदबिक्री सम्झौता रोक्न भनेको हो । साथै, सो बैठकले एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
हालै भएको भनिएको प्रत्यक्ष वैदेशिक लगानीअन्तर्गतको एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री वा हक हस्तान्तरणका सम्बन्धमा विस्तृतरूपमा अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले अनुसन्धान गरी निष्कर्षमा नपुगुन्जेल अवधिभरिका लागि यस सेयर खरिद–बिक्री कारोबार सम्बन्धी कार्य यथास्थितिमा राख्न सरकारलाई निर्देशन दिएको हो । यसका साथै सो विषयमा वास्तविकता तथा यर्थाथता पहिचान गर्नका लागि ३० दिनभित्र कार्य सम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न, गराउन समितिको बैठकले सरकारलाई निर्देशन दिएको हो ।
यस्तै, सेयर खरिद–बिक्रीसम्बन्धमा भएका कामहरूको विस्तृत विवरण र नेपालमा प्रत्यक्ष वैदेशिक लागनी जोखिमयुक्त रहेको भन्ने भनाइसम्बन्धमा सरकारको धारणा यथाशीघ्र (४८ घन्टाभित्र) सार्वजनिक गर्न निर्देशन दिएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij