काठमाडौँ – रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।
जन्मकैद सजाय पाउनेमध्येमा चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इदबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजु लगायत रहेका छन्।
त्यसैगरी ज्यान मुद्दामा प्रतिवादी बनाएकी मृतक नवराज विककी प्रेमिका भनिएकी ५४ रुकुम पश्चिम ३६, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय ठहर गरिएको छ । घटनामा संलग्न भनिएका ८ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको अदालतकी श्रेष्तेदार मन्दिरा शाहीले बताइन् ।
२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज बिक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो । ३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij