काठमाडौं- सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रिया मार्फत शेयर निष्काशन गर्दैछ। कम्पनीले आज (मंसिर ६ गते) देखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता शेयरका लागि शुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ रहेको रहेकोलाई परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँ कायम गरिएको छ।
कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरु सहभागि गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रहि बोलकबोल मार्फत शेयर बिक्री गर्न लागेको हो। कम्पनीको शेयरमा मंसिर १० गतेसम्म बोलकबोल पेश गर्न सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ। योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गई बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी शिलबन्दी गरिएको गोप्य बोलपत्र फाराम बुझाउनु पर्नेछ।
शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।
कस्तो छ कम्पनी ?
नवलपरासीको सुनवल नगरपालिकामा सर्वोत्तम सिमेन्ट उद्योग सञ्चालनमा छ । दैनिक ३ हजार टन सिमेन्ट र ३ हजार टन क्लिंकर उत्पादन क्षमताको उद्योग रहेको कम्पनीले सार्वजनिक गरेको आहृवान पत्रमा उल्लेख छ ।
पाल्पाको तिनाउँ तथा निस्दी गाउँपालिकामा कम्पनीले चुनढुंगा खानीको अनुमति लिएको छ । यसका सहायक कम्पनीहरु सर्वोत्तम होल्डिङ्स र सवोत्तम इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा छन् ।
अर्थतन्त्रमा देखिएको शिथिलताले गर्दा निर्माण उद्योगमा पनि असर गरेको छ । सर्वोत्तम सिमेन्टको पनि बिक्री आम्दानी खस्केको गत आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणले देखाउँछ ।
गत असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ १९ पैसा छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा छ । सो अवधिसम्म कम्पनीको जगेडा कोष ३ अर्ब ४५ करोड रुपैयाँ बराबर छ ।
आर्थिक वर्ष २०७७/७८ मा ८ अर्ब ९३ करोड ७८ लाख पुगेको कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ८८ करोड १५ लाखमा झरेको थियो ।
गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ३८ करोड ३ लाखमा झरेको छ । सञ्चालन आम्दानीमा कमी आउँदा कम्पनीको नाफा प्रभावित बन्दै गएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले २०७८/७९ मा ४६ करोड ७६ लाख र २०७९/८० मा २० करोड ७५ लाख मात्रै खुद नाफा कमाएको छ । जगेडा कोषमा ३ अर्ब ४५ करोड रुपैयाँ सञ्चित रहेको कम्पनीको विवरणपत्रमा उल्लेख छ ।
कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ३ वर्ष ९ महिना रहेको र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ४ वर्ष ७ महिना प्रक्षेपण छ । इक्रा नेपालले कम्पनीलाई टि्रपल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनी समयमा नै वित्तीय दायित्व वहन गर्न मध्यमस्तरको क्षमतामा रहेको जनाउँछ । इक्राले सबैभन्दा सुरक्षित कम्पनीलाई टि्रपल ए रेटिङ प्रदान गर्दछ भने कमजोर स्तरको कम्पनीलाई डी रेटिङ प्रदान गर्दछ ।
२०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म कम्पनीको दिर्घकालीन ऋणसहितको दायित्व ६५ करोड ५४ लाख रुपैयाँ छ । चालु पुँजी प्रकृतिको दायित्व ३ अर्ब ३५ करोड रुपैयाँसहित कुल चालु दायित्व ५ अर्ब ११ करोड रुपैयाँ रहेको विवरणपत्रमा उल्लेख छ । हालै सूचीकृत भएको घोराही र सोनापुर मिनरल्सको तुलनामा कम्पनीको ऋण दायित्व न्युन देखिन्छ ।
कम्पनीले लिएको ऋणमा वाषिर्क १०.५० प्रतिशत ब्याज बुझाउँदै आएको जनाएको छ । पछिल्लो समय निर्माण क्षेत्रमा आएको मन्दीको असर यो कम्पनीको नाफामा पनि परेको देखिन्छ ।
कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपाने हुन् । उनले २८.९७ प्रतिशत सेयर स्वामित्व लिएका छन् । अन्य सञ्चालकहरुमा विमलकुमार सवार्थिया, टिकाराम न्यौपाने, दिवस न्यौपाने, तेन्जिङ लाक्देन तामाङ छन् । कम्पनीमा सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना र स्वतन्त्र व्यवसायिक सञ्चालक १ जनासहित ७ जना सञ्चालक हुनेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसी हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij