२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बशिष्ठ गायिका ज्ञानु राणालाई दीर्घ साधना सम्मान

बशिष्ठ गायिका ज्ञानु राणालाई दीर्घ साधना सम्मान

1.7K
Shares

काठमाडौं मिलाप दोस्रो तीज उत्सवमा बशिष्ठ गायिका ज्ञानु राणालाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ । प्रतिनिधिसभा उप सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा शनिबार काठमाडौंमा भएको समारोहमा गायिका राणालाई नगदसहित दीर्घ साधना सम्मान अर्पण गरिएको हो । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्र्वद्धन गरौं’ भन्ने मूल नाराका साथ मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा सम्पन्न भएको समारोहको सहयोगी संस्थामा हिमालयन बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, रिलायबल लाइफ इन्सुरेन्स र सिग्नेचर रहेका थिए । यस्तै साझा कुरियर एण्ड कार्गो, म्युजिक एण्ड भ्वाइस रेकर्डिङ स्टुडियो र जिनियस खबर साथ रहेको थियो ।

कला, साहित्य र गीत-सङ्गीत क्षेत्रका प्रवुद्ध महिलाहरूको आथित्यता रहेको समारोहमा बरिष्ठ अभिनेत्री शर्मिला मल्ल, निर्माता/निर्देशक एवम् अभिनेत्री दीपाश्री निरौला, गायिका मञ्जु थापा गुरुङ, अभिनेत्री रेजिना उप्रेती, कलाकार गोमा केसी, शिला गजुरेल, गायिका माण्डवी त्रिपाठी, सारिका घिमिरे, मञ्जु लावती, शुष्मा रुपाखेती, निशा रावललाई मिलाप सम्मान अर्पण गरिएको थियो ।

यस्तै समारोहमा फेशन डिजाइनर अनु श्रेष्ठ, व्यवसायी एवं समाजसेवी कल्पना थापा, प्रमिला कार्की, धनराज्यलक्ष्मी शाक्य, पूजा शाह, सावित्रा अधिकारी, व्युटिसियन अनिता देउला, मोडल एवम् समाजसेवी सलीना गुरुङलाई समाजमा उहाँहरूले पुर्‍याएको विशिष्ट योगदानको उच्च कदर गर्दै ‘मिलाप तीज सम्मान’ अर्पण गरिएको थियो ।

सञ्चारकर्मी दीप ज्योति थापाले सहजिकरण गरेको कार्यक्रममा कल्पना थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो । तीजलाई परम्परागत भन्दा पनि सिर्जनात्मक रुपमा मनाउनुपर्ने जोड दिँदै प्रमुख अतिति उप सभामुख रानाले मिलापले गरेका कार्यको सहराना गर्नुभएको थियो ।

सम्मानित व्यक्तिबाट दीपाश्री निरौला र ज्ञानु राणाले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । उहाँहरूले मिलापका कार्यको तारिफ गर्नुभएको थियो । अतिथिहरूले मिलापका कार्यको प्रशंसा गर्दै आउदा दिनमा पनि यसले निरन्तरता पाओस् भन्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरूले पछिल्लो समय तीज भडकिलो बन्दै गएको र यसको मौलिकतालाई जोगाइराख्नु पर्नेमा जोड दिनुभएको थियो ।

विगत १४ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप मासिकले नेपाली नारीको महान् पर्व तीजलाई उत्सवका रुपमा मनाउँदै उहाँहरूले समाजमा पुर्‍याउनुभएको योगदानको कदर स्वरुप सम्मान गरेको कार्यक्रमकी सभापति अधिकारीले बताउनुभयो । उहाँले यस कार्यक्रममा सहयोग पुर्‍याउनुहुने सबैमा आभार व्यक्त गर्नुभएको थियो ।

गायिका मञ्जु थापा, माण्डवी त्रिपाठी र सारिका घिमिरेले गीत प्रस्तुत गर्दा प्रमुख अतिथि उपसभामुख रानाले पनि आफ्नो मन्तव्यसँगै गीत गाउनुभएको थियो । सो अवसरमा तीजको दर खानुका साथै दिदी बहनीहरूले तीजका गीतमा छमछमी नाचेका थिए । तस्बिर : सुरेन्द्र थापा ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij