काठमाडौं– सर्वसाधारणका लागि सिटिजन लाइफ इन्स्योरेन्सले आज भदौ १५ गतेबाट प्रिमियममा आइपिओ जारी गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्कासन गरिरहेको हो। कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये ५ प्रतिशत अर्थात् ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरूका लागि निष्कासन गरेको छ। त्यस्तै, कम्पनीले बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
बाँकी रहेको ९० लाख कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन भइरहेको हो। यो आइपिओमा १९ गतेसम्म आवेदन दिन सकिनेछ सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि भदौ २९ गतेसम्म लम्बिनेछ। कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिन्छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणलीमार्फत् आवेदन दिन सक्नेछन्।
कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij