२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लगानी बोर्डबाट चार जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत

लगानी बोर्डबाट चार जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत

1.1K
Shares

काठमाडौं – लगानी बोर्डले चार जलविद्युत् परियोजनाका लागि रु ३६ अर्ब ३७ करोड बराबरको लगानी स्वीकृत गरेको छ । बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको बैठकले रोल्वालिङ खोला, छुजुङ खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि लगानी स्वीकृत गरेको हो ।

बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । दाङको राजपुर गाउँपालिकामा दुई सय ४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजना अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय पनि बैठकले गरेको छ ।

बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगङ्गामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता रिसेन इनर्जी कम्पनी लिमिटेडबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ । बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । यसका अतिरिक्त, बोर्डको बैठकले रासायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययनका लागि मलेसियास्थित कम्पनीसँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ ।

बैठकमा प्रधानमन्त्री दाहालले आगामी दिनमा जलविद्युत् परियोजनाको लागत निर्धारण गर्दा ‘ब्यांकेबल’ (बैंकले लगानी गर्नसक्ने) हुने गरी थप अध्ययन÷विश्लेषण गर्न, कार्यान्वयनमा रहेका परियोजना समयमा सम्पन्न गर्न आवश्यक समन्वय प्रगाढ बनाउन र लगानी स्वीकृति र परियोजना कार्यान्वयनमा रहेका प्रक्रियालाई छोट्याउँदै छिटोछरितो र परिणाममुखी कार्यसम्पादन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij