२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सप्तकोशी ब्यारेजका सबै ढोका खोलिए, पानीको बहाव भने अझै उच्च

सप्तकोशी ब्यारेजका सबै ढोका खोलिए, पानीको बहाव भने अझै उच्च

1.3K
Shares

काठमाडौं– सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ ।
पानीको सतह घटाउन ब्यारेजका सबै ढोका खोलिएपनि नदीको बहाव भने अझै उच्च छ । कोशीको पानी अझैपनि ब्यारेज पुलको तल्लो भागलाई छोएर बगिरहेको छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख क्युसेक प्रतिसेकेण्ड रहेको छ । अझैपनि ब्यारेजका सबै ढोका खुला रहेको छ । बिहानको समयमा पानीको बहाव ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रतिसेकेण्डसम्म पुगेको र बहावमा उतारचढाव जारी रहेकाले पूर्ण शतर्कता अपनाइएको सुनसरी प्रशासनले जनाएको छ । प्रशासनले उच्च बहावसँगै खोलिएका ब्यारेजका ५६ ढोकाको अवस्था हेरेर क्रमशः बन्द गरिने जनाएको छ । उता कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार पछिल्लो पटकको ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानी अहिलेसम्मकै तेस्रो उच्च बहाव हो । यसअघि ब्यारेजमा कोशी नदीको बहाव सन् १९६८ मा सबैभन्दा बढी ७ लाख क्युसेक मापन भएको थियो । १९८९ मा भने पानीको बहाव ४ लाख ७२ हजार क्युसेक रेकर्ड गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।
नदीको बहाव उच्च हुँदा ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ भने यो चौथो पटक खोलिएको हो । यसअघि २०१९ मा बालुवा थुप्रिएर पुलमा खतरा बढेपछि सो बेला समेत पुलका सबै ढोका खोलिएको थियो ।
यसैबीच नदीको बढ्दो जलसतहसँगै सुनसरी प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । सुरक्षाका सबै निकायलाई अलर्टमा राखिएको जनाएको प्रशासनले नदीले कटान र क्षति नपु¥याए पनि जोखिम भने कायम रहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सबै संयन्त्र तयारी अवस्था राखिएको बताउँदै सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखी निरन्तर अनुगमन जारी रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij