२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माधव नेपालको स्पष्टीकरणः बालुवाटार जग्गा प्रकरणमा मेरो संलग्नता छैन

माधव नेपालको स्पष्टीकरणः बालुवाटार जग्गा प्रकरणमा मेरो संलग्नता छैन

805
Shares

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ ।
सोमवार युरेपेली देशहरुको भ्रमण छोट्याएर स्वदेश फर्किनुभएका उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनशायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेको, र कसैलाई मुआब्जा नदिकन कानूनसम्मत ढंगले छुट्याएर काम गरेको बताउनु भयो । अध्यक्ष नेपालले आफू पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जाने अघिल्लो दिन सर्वोच्च अदालतले आफूमाथि अनुसन्धान गर्न आदेश दिएको तर पूर्वनिर्धारित कार्यक्रममा गएपछि सञ्चारमाध्यमहरुले आफू भागेको भ्रम फैलाएको आरोप लगाउनु भयो । उहाँले आफू गोली हान्न लाग्दासमेत नभागेको भन्दै अनुसन्धान गर्नेकुराले नभाग्ने बताउनु भयो । उहाँले आफूले कुनै गलत काम नगरेको भन्दै चुनौतिको सामना गरेर अघि बढ्ने बताउनु भयो । उहाँले जग्गा प्रकरणको छानबिनमा आफ्नो सहयोग रहने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कागताली कस्तो प¥यो भने म जानुभन्दा एकदिन पहिला सर्वोच्च अदालतबाट एउटा निर्णय भएको रहेछ । त्यो निर्णय भित्र ललितानिवासको जग्गाको सन्दर्भमा छानबिनको प्रक्रिया अघि बढाउनु भनेर लेखिएको थियो । त्यसमा कता कता म प्रधानमन्त्री भएको बेलामा पनि जग्गा सम्बन्धी निर्णय भएका थिए । त्यसैसँग जोडेर पत्रपत्रिकामा मेरो बारेमा समाचार आयो । कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल माग्ने खालको मान्छे होइन भन्नेकुरा बुझ्नुपर्दथ्यो । गोली चल्ने बेलामा खाने बेलामा त नभाग्ने मान्छे बद्मासी र कुनै अपराध नगर्दा तर्सेर भाग्ने मान्छे माधव नेपाल हुँदै होइन । राजाले गिरफ्तार गर्न खोज्दा त नभाग्ने मान्ने म । तपाईहरु सबैलाई थाहा होला । सबै चुनौतिको सामना गर्ने मान्छे म, कुनै गल्ती, अपराध, भ्रष्टाचार नगरेको मान्छे म, कुनै सन्दर्भ छैन भन्न सकिन्छ, किनभने कानूनको प्रसेसअन्तर्गत सबै प्रक्रिया अघि बढ्छन् । प्रसेस अघि बढेको पनि छैन । मेरो पहिलादेखिकै निश्चित निर्धारित कार्यक्रममा जाने अवस्था बन्यो र म गएँ । स्वीजरल्याण्ड, स्पेन, क्रोशिया र युनाइटेड किङडम (युके) मा कार्यक्रम थियो । म यहाँबाट जाने बित्तिकै केहीले त माधव नेपाल भागे भनेर लेखे, लुकेर बसे, अब फर्किंदैनन् भने । तर मेरो बानी पनि चुनौति दिइसकेपछि तह लगाएरै छोड्ने भइसकेपछि म फर्किएँ । कुनै बदमासी गरेको छैन, अपराध, भ्रष्टाचार, लेनदेन गरेको छैन, त्यसैले म आत्तिएको छैन, तर चित्त दुखेको छ, केही गरौँ भन्यो के हुन्छ, केही गरेर देखाएको पनि हो । त्यसमा गर्व छ । बालुवाटारको प्रकरणमा पनि भन्ने हो भने निवासमा कोही जाने हो भने हेर्न र भन्नसक्छ । त्यो काम कुन प्रधानमन्त्रीको पालामा शुरु भयो भन्दा सम्भवतः मेरो नाम अग्रपंतिमा आउनेछ । केही बद्मासी भएको छ भने छानबिन होस् । मेरो सहयोगी भुमिका रहनेछ । तर मैले नितान्त असल मनशायले काम गरेको हुँ । सरकारी जग्गा र अन्य प्रकारको जग्गा कानूनसम्मत लाग्ने छुट्याएर गर्ने भनिएको हो । मेरो कुनै पनि गलत कार्यमा संलग्नता रहेको छैन । त्यो मनशायले कागजपत्र नभएपनि श्रेष्था कायम गरेर राम्रो गरेको हुँ । त्यो काम गर्दा सरकारी र अन्य प्रकारको जग्गा कानूनसम्मत ढंगले छुट्याएर गरिएको हो । बाटोमा पनि मुआब्जा कसैलाई नदिकन गरिएको हो । ७ रोपनी जग्गा फिर्ता लिएको हो । यसमा संलग्नहरुको पनि छानबिन होस् । मेरो संलग्नता यस्तोमा कुनै छैन ।’

अध्यक्ष नेपाल साउन २२ गते स्वीजरल्याण्ड, स्पेन, क्रोशिया र युनाइटेड किङडम (युके) लगायतका युरोपेली मुलुकको भ्रमणमा निस्किनुभएको थियो । तर साउन २१ गते सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री द्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो । सोही प्रसंगपछि आफू विदेश जानु र अदालतको आदेश आउनु संयोग भएको र आफू पूर्वनिर्धारित कार्यक्रमअनुसार विदेश भ्रमणमा भएको बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij